कलिला केटाकेटीमा हुने आँखाकाे क्यान्सर ‘रेटिनोब्लास्टोमा’
बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रूपमा लिन नहुने चिकित्सकहरूले बताउँछन्।
बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, त्यसको एउटा मुख्य लक्षण लामो समयसम्म आँखा रातो हुनु रहेको चिकित्सकहरू बताउँछन्।
त्यसबाहेक आँखाको नानीमा सेतो टिका वा बत्तीजस्तो देखिनु यो रोगको अर्को लक्षण हो। चिकित्सकहरूका अनुसार आँखा बाङ्गो हुँदै जानु, आँखा रातो भइराख्नु र जति उपचार गरे पनि ठिक नहुने यसका शुरुवाती लक्षण हुन्।
तत्काल उपचार
बालबालिकाको आँखामा यस्ता समस्या देखिनेबित्तिकै उपचार गर्न थाल्न पाए यो रोग निको पार्न सकिने आँखाको क्यान्सर रोग विशेषज्ञ पूर्णिमा राजकर्णिकार बताउँछिन्।
‘रोग लाग्नेबित्तिकै उपचार शुरु गर्न पाए बिरामीको आँखाको ज्योति र ज्यान दुवै बचाउन सक्छौं। तर यस्तो रोग लागेका बिरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ’, तिलगंगा आँखा अस्पताल काठमाडौं कार्यरत डा. राजकर्णिकारले भनिन्।
चिकित्सकहरुका अनुसार प्राय पाँच वर्ष मुनिका बालबालिकामा रेटिनोब्लास्टोमा हुन्छ।
कसैलाई दुवै आँखामा
अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिन्छ। नेपालमा वर्षमा ४०\५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको डा. राजकर्णिकारले बताइन्।
गत वर्ष मात्र रेटिनोब्लास्टोमा भएका करिब ३५ जना नयाँ बिरामी तिलगंगा आँखा अस्पतालमा उपचार गराउन आएको बताइएको छ। त्यसमध्ये १० जना बिरामीको दुवै आँखामा रेटिनोब्लास्टोमा भएको भेटिएको थियो।
जनचेतना
‘यो रोग निकै छिटो फैलिन्छ त्यसैले सुरुमै उपचार थाल्न नपाए यसले जटिल समस्या उत्पन्न गर्छ’, उनी भन्छिन्, तर आँखाजस्तो संवेदनशील अंग र बालबालिकासँग जोडिएको यस रोगबारे धेरैलाई राम्रो जानकारी छैन त्यसैले जनचेतना फैलाउन जरुरी छ।’
सबै अभिभावक, दूर दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदयाकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहकने शिक्षक, समाज र परिवारका अन्य सदस्यले याे रोगका लक्षणबारे थाहा पाउन जरुरी रहेको डा. राजकर्णिकार बताउँछिन्।
बीबीसी नेपालीबाट




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?