Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के हो सन अभियान?

के हो सन अभियान?

संयुक्त राष्ट्रसंघको पहल र सदस्य देशको नेतृत्वमा सन् २०१० मा स्केलिङ अप न्युट्रेसन (सन) अभियान शुरु भएको हो।

विभिन्न तहबाट सञ्चालन गरिएका पोषणसम्बन्धी कार्यक्रमलाई विश्वव्यापी रूपमा विस्तार गरी किशोरकिशोरी, महिला तथा बालबालिकामा हुने सबै प्रकारका कुपोषण अन्त्य गर्न यो अभियानको जन्म भएको हो।

स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको यो अभियानमा नेपाल सन् २०११ देखि सक्रिय सदस्य रूपमा रहेको छ। हाल सो अभियानमा विश्वका विभिन्न ६१ देश सदस्यका रूपमा जोडिएका छन्।

अभियानमा जोडिएका अन्य देशमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, इण्डोनेसिया, म्यान्मार, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, ताजकिस्तान, यमन र बुरुण्डीलगायत छन्।

अभियानले राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, नागरिक समाज, प्राज्ञिक क्षेत्र, सामाजिक अभियान्तालगायतलाई पोषणका क्षेत्रमा काम गर्न अनुकूल वातावरण तयार गर्न समन्वय गर्दै आएको छ। विश्वस्वास्थ्य संगठन, राष्ट्रसंघीय बालकोष, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय निकायले अभियानलाई अनुमोदन गरेका छन्।

सो अभियानले सन् २०१६–२० का लागि चारवटा रणनीति र मार्गचित्रसमेत तयार पारेको छ। पोषणका लागि अनुकूल राजनीतिक वातावरणको विस्तार र दिगोपन कायम गर्ने, पोषणका लागि योगदान पुर्याउने प्रभावकारी कार्यलाई प्राथमिकता दिने, यसको सस्थागत विकास गर्ने, कुपोषण अन्त्य गर्न साझा रणनीति तयार गर्ने र पोषणको लागि आर्थिक स्रोत व्यवस्थापन गर्ने रहेको अभियानको सचिवालयमा कार्यरत सोविता मल्लले जानकारी दिइन्।

यो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिका न्युयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, सन् २०१५ इटलीकै मिलान र सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएका थिए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार