Health TV Online
Health TV Online

हाम्रो शरीरलाई किन आवश्यक छ मिनरल्स?

हाम्रो शरीरलाई किन आवश्यक छ मिनरल्स?

मानव शरीरका लागि नभई नहुने तत्त्व हो, मिनरल्स । मिनरल्सले हड्डी बलियो बनाउनुका साथै मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ। शरीरमा मिनरल्सको आवश्यक मात्रा भए मात्र हर्मोनले प्रभावकारी ढङ्गले काम गर्न सक्छ।

मिनरल्सले शरीरको तरल पदार्थ सञ्चालन गर्न सहयोग पुर्याउँछ। यसले उच्च रक्तचाप, हृदयको गति, नाडीको गतिलाई नियमित राख्छ। शरीरमा पोटासियम नामक मिनरल्सको कमी भएमा मांसपेशी कमजोर हुने तथा वाकवाकी लाग्ने समस्या आउँछ। दूध, नरिवल पानी, दाल, केरा र माछा यसको राम्रो स्रोत मानिएको छ।

म्याग्नेसियम नामको मिनरल्सले रगतमा चिनीको मात्रा परिवर्तित गर्न, रक्तचाप तथा हृदयगतिलाई सही राख्न मद्दत गर्छ। यसले क्याल्सियमसित मिलेर काम गर्छ।

म्याग्नेसियमको कमी भएमा माइग्रेन, डिप्रेसन तथा मांसपेशी बाउँडिने जस्ता समस्या निम्तिन सक्छ। खानामा हरियो साजसब्जी। बदाम, केराजस्ता खानेकुराबाट म्याग्नेसियम पर्याप्त मात्रामा पाइन्छ। र

फोस्फोरस नामक मिनरल्स हड्डीमा क्याल्सियम फोस्फेटको रूपमा जम्मा हुन्छ । दाँत तथा हड्डी स्वास्थयका लागि यो निकै जरुरी छ। यसको कमी भए जोर्नी अररो हुने र हड्डीमा पीडा हुने समस्या हुन्छ। फोस्फोरस दाल, नट्स्, दूध, चीज, अंकुरित अनाज, मासु र माछाबाट प्राप्त गर्न सकिन्छ।

म्याग्नेजको कमी भएमा सम्झनाशक्ति कमजोर हुनुका साथै पाचनसम्बन्धी समस्या आउनसक्छ। यसका लागि मटर, चिया र कफी सेवन गर्नुपर्छ।

जिंक रोग प्रतिरोधात्मक क्षमता बढाउन शरीरको लागिआवश्यक हुन्छ। यसले कपाल, छाला र नङ्लाई पोषण प्रदान गर्छ। जिंकको कमी भएछिटो छिटो रुघाखोकी लाग्ने समस्या आउँछ।

शरीरमा प्रोटिनको निर्माणको लागि सल्फर जरुरी हुन्छ। सल्फर एक एन्टी एजिंग तत्त्व हो। सल्फरले छाला नरम बनाउनुका साथै छालालाई चमकदार बनाउँछ। दुग्धजन्य पदार्थ, बदाम, ओखर र माछा प्रोटिनको राम्रो स्रोत मानिन्छ ।

पाचन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नसाले सही काम गर्न कोबाल्ट नामक मिनरल्सको आवश्यकता हुन्छ। यसको कमी भएमा आँखा कमजोर हुने, स्मरण शक्ति कमजोर हुने, चक्कर लाग्ने समस्या निम्तिन्छ। यो समस्याबाट पार पाउन दूध र रातो मासुको सेवन गर्नु लाभदायक मानिन्छ ।

थप समाचार