फ्रान्समा एक वर्षमा १० लाखले छाडे धूमपान
एजेन्सी
फ्रान्समा एक वर्षमा १० लाख मानिसले धूमपान छाडेको तथ्यांक सार्वजनिक भएको छ। यो आँकडा सन् २०१६ देखि २०१७ को बीचको हो। सर्वेक्षणमा संलग्न पब्लिक हेल्थ फ्रान्सका अनुसार यो आँकडा विगत एक दशकयताकै सबैभन्दा बढी हो। विशेषगरी कम आय भएका मानिसहरु र युवाहरुल धूमपान छाड्ने क्रम तीब्र भएको छ। हालै फ्रान्समा सन्चालन भएको धूमपानविरोधी अभियान नै यस्तो गिरावटको कारण हुन सक्ने बताइएको छ।
अभियानका क्रममा सूर्तिजन्य पदार्थका उत्पादनको प्याकेजिङ, सूर्तिको सट्टा अन्य पदार्थ प्रयोग गर्नेलाई पुरस्कृत, चुरोटको मूल्य बढाउने र राष्ट्रिय सूर्तिजन्य पदार्थमुक्त महिनाजस्ता कार्यक्रम सन्चालन गरिएको थियो।
सर्वेक्षणका अनुसार सन् २०१७ मा १८ देखि ७५ वर्ष उमेरका २६।९ प्रतिशत मानिसहरु धूमपान गरेको पाइएको छ। यसअघिको वर्ष यो आँकडा २९।४ प्रतिशत थियो। अर्थात् एकवर्षमा धूमपान गर्नेहरुको संख्या १ करोड ३२ लाखबाट घटेर १ करोड २२ लाख भयो। फ्रान्सकी स्वास्थ्यमन्त्री एग्नेस बुजिनले न्यून आर्थिक अवस्था भएका मानिसहरुको धूमपान छाडेकोमा स्वागत गरेकी छन्।
गत वर्ष गरिएको एक अध्ययनमा सूर्तिजन्य पदार्थविरुद्धको नीतिका बाबजूद दशकौंसम्म पनि धूमपान गर्नेको संख्यामा कमी आएको थिएन। कारण, जनसंख्यावृद्धि सँगै धूमपान गर्नेको संख्या पनि थपिँदै जान्थ्यो।
‘द लान्सेट’ नामक जर्नलका अनुसार विश्वभरमा हरेक १० मृत्युमध्ये एकको मृत्युको कारण धूमपान बनिरहेको छ। धूमपानबाट बढी मृत्यु हुने मुलुकमा चीन, भारत, अमेरिका र रुस छन्। विश्लेषकका अनुसार धूमपान महामारीजस्तै धनी देशमा कम र मध्यम आय भएका मुलुकमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानको लत छुटाउन सूर्तिजन्य पदार्थको प्याकेटमा छापिने तस्बिर र चेतावनीको भूमिका पनि महत्वपूर्ण रहन्छ। विश्वका ७८ देशले यसलाई पालना गरिरहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’