Health TV Online
Health TV Online

फ्रान्समा एक वर्षमा १० लाखले छाडे धूमपान

फ्रान्समा एक वर्षमा १० लाखले छाडे धूमपान

एजेन्सी

फ्रान्समा एक वर्षमा १० लाख मानिसले धूमपान छाडेको तथ्यांक सार्वजनिक भएको छ। यो आँकडा सन् २०१६ देखि २०१७ को बीचको हो। सर्वेक्षणमा संलग्न पब्लिक हेल्थ फ्रान्सका अनुसार यो आँकडा विगत एक दशकयताकै सबैभन्दा बढी हो। विशेषगरी कम आय भएका मानिसहरु र युवाहरुल धूमपान छाड्ने क्रम तीब्र भएको छ। हालै फ्रान्समा सन्चालन भएको धूमपानविरोधी अभियान नै यस्तो गिरावटको कारण हुन सक्ने बताइएको छ।

अभियानका क्रममा सूर्तिजन्य पदार्थका उत्पादनको प्याकेजिङ, सूर्तिको सट्टा अन्य पदार्थ प्रयोग गर्नेलाई पुरस्कृत, चुरोटको मूल्य बढाउने र राष्ट्रिय सूर्तिजन्य पदार्थमुक्त महिनाजस्ता कार्यक्रम सन्चालन गरिएको थियो।

सर्वेक्षणका अनुसार सन् २०१७ मा १८ देखि ७५ वर्ष उमेरका २६।९ प्रतिशत मानिसहरु धूमपान गरेको पाइएको छ। यसअघिको वर्ष यो आँकडा २९।४ प्रतिशत थियो। अर्थात् एकवर्षमा धूमपान गर्नेहरुको संख्या १ करोड ३२ लाखबाट घटेर १ करोड २२ लाख भयो। फ्रान्सकी स्वास्थ्यमन्त्री एग्नेस बुजिनले न्यून आर्थिक अवस्था भएका मानिसहरुको धूमपान छाडेकोमा स्वागत गरेकी छन्।

गत वर्ष गरिएको एक अध्ययनमा सूर्तिजन्य पदार्थविरुद्धको नीतिका बाबजूद दशकौंसम्म पनि धूमपान गर्नेको संख्यामा कमी आएको थिएन। कारण, जनसंख्यावृद्धि सँगै धूमपान गर्नेको संख्या पनि थपिँदै जान्थ्यो।

‘द लान्सेट’ नामक जर्नलका अनुसार विश्वभरमा हरेक १० मृत्युमध्ये एकको मृत्युको कारण धूमपान बनिरहेको छ। धूमपानबाट बढी मृत्यु हुने मुलुकमा चीन, भारत, अमेरिका र रुस छन्। विश्लेषकका अनुसार धूमपान महामारीजस्तै धनी देशमा कम र मध्यम आय भएका मुलुकमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानको लत छुटाउन सूर्तिजन्य पदार्थको प्याकेटमा छापिने तस्बिर र चेतावनीको भूमिका पनि महत्वपूर्ण रहन्छ। विश्वका ७८ देशले यसलाई पालना गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार