Health TV Online
Health TV Online
Health TV Online

निराेगी हुनुहुन्छ?, ढुक्क नहुनुहोस्, क्षयराेग हुनसक्छ

निराेगी हुनुहुन्छ?, ढुक्क नहुनुहोस्, क्षयराेग हुनसक्छ

काठमाडौं : ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ।’ तपाईँ अनुमानमा हुनुहुन्छ? तर ढुक्क नहुनुहोस्।

हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ। यो रोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन्। शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको किटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन। तर सक्रिय क्षयरोगको किटाणुले क्षयरोग लाग्ने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक चिकित्सक भीमसिंह तिंकरी भन्छन्, ‘हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छौँ, रोग छैन भन्ने अवस्था रहँदैन।’

चिकित्सकका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ। विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको किटाणुको अवस्थाका बारेमा पत्ता लाग्छ। छातीरोग विशेषज्ञ चिकित्सक सरोज ढुङ्गानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन्। यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले किटाणु हावामा फैलिन सक्छ। हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमण हुनसक्छ।

क्षयरोग बारेमा जनचेतना जगाउन ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आइतबार मनाइँदैछ ।

सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको किटाणु पत्ता लगाएका थिए। किटाणु पत्ता लगाएको १०० वर्षपछिबाट यो दिन क्षयरोग दिवस मनाउन शुरु गरिएको थियो।

लगानी धेरै उपलब्धि कम

नेपालमा क्षयरोग निवारणका कार्यक्रम शुरु भएको ६० वर्षभन्दा बढी अवधि पूरा भइसक्यो। तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकिरहेको छैन। स्वास्थ्य मन्त्रालयसँग क्षयरोग निवारणका लागि सरकारी तथा दातृ निकायबाट कति पैसा खर्च भयो भन्ने तथ्याङ्क छैन । चालू आर्थिक वर्षमा मात्र यो कार्यक्रमका लागि ७० करोड रुपैयाँ विनियोजित छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन्। केन्द्रले गत आर्थिक वर्षमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ। कुल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौँ नम्बरमा रहेको छ। दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ।

क्षयरोगको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लागाई उपचारमा ल्याउनु स्वास्थ्य मन्त्रालयलाई प्रमुख चुनौती बनेको छ । केन्द्रका निर्देशक चिकित्सक तिंकरी भन्नुहुन्छ, ‘अहिले स्थानीय निकायबाट क्षयरोगका बिरामीको तथ्याङ्क उपलब्ध हुनसकेको छैन। महिलाले स्वास्थ्य परीक्षण कम गराउने र टाढाबाट आउने भएका कारण धेरै महिला क्षयरोग कार्यक्रमको दायरामा समावेश हुनसकेका छैनन्। औषधि वितरणमा समेत समस्या परिरहेको छ।’

क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क  पाइन्छ। निःशुल्क औषधिका लागि मात्र वार्षिक १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च हुन्छ । क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला छन्।

नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ। केन्द्रका अनुसार गत आव २०७४\७५ मा एक लाख ९६ हजार ३६३ मा क्षयरोगको आशङ्का गरिएको थियो। तीमध्ये खकार परीक्षण गर्दा ३२ हजार ४७४ मात्र उपचारको पहुँचमा आएका थिए।

नयाँ क्षयरोगीका १३ हजार बिरामी पत्ता लगाई उपचारको पहुँचमा ल्याउन सकिएको छैन। ‘क्षयरोगी किन सरकारी उपचार सेवामा आएनन्? क्षयरोगी पत्ता लगाई उनीहरूलाई सरकारी उपचार सेवामा ल्याउन प्रमुख चुनौती बनिरहेको छ’, निर्देशक तिंकरीले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार