सिस्ने गाउँपालिकामा स्तनपान कक्ष
रुकुम पूर्व : सिस्ने गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरेको छ। महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो।
कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा गाउँपालिकासम्म पुग्ने सुत्केरी आमाले आफ्नो बच्चालाई सहजरूपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष र पोषण कर्नरको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। विशेषगरी गर्भवती महिला, सुत्केरी आमा र दुई वर्षमुनिका बालबालिकालाई केन्द्रित गरेर स्तनपान कक्ष र पोषण कर्नर स्थापना गरिएको हो।
गाउँपालिका कार्यालयको एउटा कोठामा स्तनपान कक्ष र पोषण कर्नर स्थापना गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। पोषण कर्नरमा गेँडागुडी, फलफूल राखिनुका साथै सन्देशमूलक जानकारी पनि राखिएको छ। कर्नर स्थापना भएपछि गाउँपालिका आउने सेवाग्राही आमा र बच्चा दुवैलाई सहयोग पुग्ने अध्यक्ष बरालले बताइन्।
स्तनपान कक्षमा बच्चा सुताउन बेबीखाट र स्तनपान गराउनका लागि सोफा राखिएको छ। स्तनपान प्रभावकारीसम्बन्धी सन्देशसहितका सामग्री पनि स्तनपान कक्षमा राखिएको छ।
करीब एक लाख रूपैयाँ लागतमा स्तनपान कक्ष र पोषण कर्नरको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।७५ हजारमा स्तनपान कक्ष र २५ हजार रूपैयाँमा पोषण कर्नर स्थापना गरिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण