माथि पुग्न लागेका महिलालाई असहज परिस्थिति बनाइदिने अवस्था अझै कायम छ
८ मार्चलाई विश्वभरि नै नारी दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि आज १०९औँ नारी दिवस मनाइँदैछ। यही अवसरमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरिरहेकीसचिव डा. पुष्पा चौधरीसँग कुराकानी गरेका छौँ।
आफूमा योग्यता, क्षमता र आत्मविश्वास भएपछि कसैको भनसुनविना पनि महिलाले महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न सक्ने डा. पुष्पाको तर्क छ। २७ वर्षे सरकारी सेवामा आफ्नो समय, सीप एवं क्षमता लगानी गरेकी सचिव चौधरी २०४८ सालमा मेडिकल अधिकृतका रूपमा राजविराजको सगरमाथा अञ्चल अस्पतालबाट प्रवेश गरेकी हुन्।
मेडिकल अधिकृत, परोपकार प्रसूति गृहको निर्देशक, परिवार स्वास्थ्य महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभागको महानिर्देशक, प्रमुख विशेषज्ञ हुँदै २०७४ पुस १३ देखि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको पद सम्हालिरहेकी छिन्। यही सेरोफेरोमा डा. पुष्पासँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–
नारी दिवस मनाइरहँदा महिलाको स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा यहाँले कस्तो अवस्था पाउनुहुन्छ?
हेर्नुस् मैले २७ वर्ष अघि काम शुरु गर्दा र अहिलेको ‘सिनारियो’ धेरै फरक छ। महिला स्वास्थ्यको अवस्था हेर्ने हो भने पछिल्लो समय निकै सुधार गरेको अवस्था छ।
हामीले सहश्राब्दी विकास लक्ष्य अनुरूप काम गरेर त्यस लक्ष्य पूरा पनि गरेका छौँ। स्वास्थ्य सेवाको उपलब्धता पनि बढेको छ। स्वास्थ्य संस्था र प्रविधिको विकासले पनि सेवामा पहुँच बढाएको छ। अब दिगो विकास लक्ष्य हासिल गर्न काम भइरहेको छ तर पनि धेरै काम गर्न बाँकी छ। तर यतिका वर्ष बितिसक्दा पनि हामीले मातृ शिशुको क्षेत्रमा उल्लेख्य सुधार गर्न सकेको छैनौँ।
मातृशिशुको सवालमा हामी १२ वर्ष अघि जहाँ थियौँ। अहिले पनि त्यही छौँ। यो दुःखलाग्दो कुरा हो। यो क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ जस्तो मलाई लाग्छ। अरु क्षेत्रमा समष्टिगत रूपमा भन्ने हो भने निकै सुधार भएको छ।
मन्त्रालयले महिलाको स्वास्थ्यसम्बन्धी हकलाई सम्वर्धन गर्न के गरिरहेको छ?
स्वास्थ्य मन्त्रालयले महिलाको भन्दा पनि आम नागरिकको स्वास्थ्य सुधारका लागि काम गर्नुपर्छ जस्तो मलाई लाग्छ। तर तपाईँले भने जस्तै महिलाको स्वास्थ्य सेवा लिन पाउने अधिकारका लागि केही कामहरू भइरहेका छन्। भर्खर मात्र हामीले धेरै वर्षको प्रयासपछि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन ल्याएका छौँ। यो ऐनले महिलाका प्रजननसम्बन्धित धेरै अधिकारलाई सुनिश्चत गर्नेछ।
यसैगरी हामीले आमा सुरक्षा कार्यक्रम शुरु गरेका छौँ। यसले पनि मातृ र नवजात शिशुको मृत्युमा कमी ल्याएको छ। नर्स मिडवाइफलाई तालिम दिने संस्थागत सुत्केरी बढाउने, किशोरी शिक्षामा लगानी गर्ने लगायतका काम भइरहेका छन्। जसले स्वास्थ्य सेवाको उपलब्धतालाई केही सहज बनाएको छ भने। महिलाको स्वास्थ्यमा केही सुधार पनि भएको अवस्था छ।
महिला भएकै कारण यहाँलाई नेतृत्वदायी भूमिकामा बसेर काम गर्न के चुनौती छन्?
हाम्रो देश अझै पनि पुरुषप्रधान नै छ। पुरुषहरूको सोचाइमा नेतृत्व गर्ने निर्णय गर्ने पदमा पुरुष हुनुपर्छ भन्ने सोच छ। त्यसैले पनि पाइला पाइलामा अप्ठ्यारा हुन्छन्। मेरो हकमा कुरा गर्नुहुन्छ भने म सचिव हुनुभन्दा अगाडिदेखि नै केही साथीहरू कसरी सचिव हुन नदिने भनेर लागिरहनुभएको थियो।
त्यसपछि पनि असहयोग गर्ने काम भयो। तर यसो भयो भन्दैमा आत्तिन हुँदैन भन्ने मेरो मान्यता हो। महिलाहरुलाई असहज परिस्थिति खडा गरिदिने पनि हुन्छ। पुरुषहरूले सोचे जस्तो फ्रेममा राख्न चाहन्छन्। महिलाहरूको ‘डेलिभर’ गर्ने तरिका पनि फरक हुन्छ। पुरुषहरूले ठूला ठूला निर्णय इन्फर्मल भेटघाटमा गर्दिन सक्छन्।
जुन हामीले देखेका छौँ। यसो भन्दैमा सबै पुरुष साथीले यसो गर्छन् भन्ने होइन तर यस्ता साथीहरू पनि हामीले देखेका छौँ। तर महिलाहरू त्यसो गर्दैनन् र गर्न हुँदैन भन्ने मेरो मान्यता हो। त्यही कुरा पुरुष साथीहरूलाई मन पर्दैन।
मन्त्रालयको अहिलको मुख्य चुनौती के हो?
म यस्तो समयमा सचिव भएँ जुन समयमा मन्त्रालयको संरचना नै परिवर्तन भयो। तीन तहको सरकार छन्। यसलाई कसरी व्यवस्थित गर्ने भन्ने ठूलो चुनौती छ। अर्को कुरा फेरि यो मन्त्रालयसँग मात्र सरोकार राख्दैन अन्य मन्त्रालयसँग पनि जोडिन्छ। यसले गर्दा काममा ढिलाइ भएरहेको छ। यो ठूलो चुनौती हो।
स्वास्थ्य असाध्यै संवेदनशील छ। यसलाई तुरुन्त व्यवस्थापन गर्नुपर्छ। कर्मचारी समायोजनको पनि कुरा छ। कामको बाँडफाँडको कुरा छ। एकचोटी व्यवस्था नै फेरेपछि काम गर्न अहिले निकै गाह्रो हुँदोरहेछ। यसका लागि केही समय त लाग्छ नै। सरसर्ती भन्दा अहिले त मन्त्रालयमा चुनौती नै चुनौती छन भन्दा पनि हुन्छ।
महिला सचिव भएर झन् काम गर्न गाह्रो भयो भन्छन् नि डाक्टरहरू?
हा हा… हो म ‘स्ट्रिक्ट’ नै छु। मेरो स्वभाव अलि ‘रिजर्भ’ टाइपको छ। कम बोल्छु। सबैको आ–आफ्नो स्वभाव हुन्छ। यसलाई कसले कसरी हेर्छ भन्ने पनि हो। के काम गर्न गाह्रो भयो भन्ने पनि हो। महिला हो यसलाई फकाएर काम गराइहाल्छु नि भन्नेहरूका लागि म ‘स्ट्रिक्ट’ नै हुँ। म सबै फाइल नपढी काम गर्दिन। प्रक्रियामा आउनुपर्छ र नियम कानुनमा चल्नुपर्छ भन्ने मेरो मान्यता हो। यहाँ आफ्नो ‘भेस्टेट इन्ट्रेस्ट लिएर आउने अनि काम भएन भने यो सचिव काम नलाग्ने भन्नेहरू पनि छन्। त्यस्ता व्यक्तिहरूका लागि म छुच्ची नै भएकी छु।
नारी दिवसको अवसरमा समग्र नेपाली नारीलाई के सन्देश दिन चाहनुहुन्छ?
महिलाका लागि नेतृत्वदायी काम गर्न असहज परिस्थिति हुनसक्छ तर आफनो बाटो आफैँ बनाउने हो। पुरुषप्रधान समाजमा खुट्टा तान्ने प्रवृत्ति त हुन्छ नै। तर पनि महिलाले नेतृत्व गर्न जरुरी छ। आफूले गलत गर्न हुँदैन कसैले केही गर्न सक्दैन। महिलाले गर्न नसक्ने केही काम छैन।आफू महिला भएको नाताले म अहिले जुन जिम्मेवारीमा छु। मेरो आफ्नो प्रयासबाट यो ठाउँसम्म आएकी छु।
कुरा मेरो मात्र होइन, अन्य महिलाहरूले पनि प्रयास गर्दा महत्त्वपूर्ण जिम्मेवारी र ठाउँमा पुग्न सक्छन्। तर भित्रैदेखिको आत्मविश्वास र दृढ इच्छाचाहिँ हुनुपर्छ। हामी महिला भएको नाताले के गर्व गर्नुपर्छ भने हामीमा पुरुषको तुलनामा धेरै तनाव र समस्या सामना गर्ने क्षमता र लगन हुन्छ। त्यसैगरी घर र अफिसको कामलाई सन्तुलित र व्यवस्थित ढंगबाट अघि बढाउन सक्ने क्षमता पनि हुन्छ। आफ्नो काममा दत्तचित्त भएर लागौँ गन्तव्यमा अवश्य पुगिन्छ भन्दै नारी दिवसको सबैलाई शुभकामना दिन चाहन्छु।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’