Health TV Online
Health TV Online
Health TV Online

भरतपुरमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा

भरतपुरमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा

भरतपुर : महानगरपालिका–९ मा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले मंगलबार केन्द्रको उद्घाटन गरिन्। दाहालले १०२ वर्षीया विष्णुकुमारी खड्का र ९५ वर्षीया भागिरथी खड्कालाई बिरामी जाँचको पूर्जी दिएर केन्द्रको आरम्भ गरेकी हुन्।

महानगर प्रमुख दाहालले महानगरवासी स्वस्थ र स्फूर्त हुनुपर्छ भन्ने मान्यताका साथ केन्द्रको शुरूआत गरेको बताइन्। सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क रूपमा प्रवाह गर्नुपर्ने नीतिअनुरूप नै यो सेवा भरतपुर महानगरपालिकाले शुरू गरेको उनको भनाइ छ। सो केन्द्रले प्रवाह गर्ने सम्पूर्ण सेवा निःशुल्क हुनेछ।

शहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट अधिकतम सेवा लिन सेवाग्राहीलाई आग्रह गर्दै प्रभावकारी सेवा प्रवाह गर्न केन्द्रका कर्मचारीलाई दाहालले निर्देशन दिइन्। महानगरपालिकाले ‘एक वडा एक स्वास्थ्यचौकी’को रूपमा विकास गर्ने योजना लिएको छ ।

शहरी स्वास्थ प्रवद्र्धन केन्द्र भरतपुर महानगरपालिकाले पहिलो पटक शुरू गरेको हो । केन्द्रमा सर्ने र नसर्ने रोगको निःशुल्क उपचार परामर्श प्रदान गरिनेछ। यहाँ बहिरङ्ग सेवा, निःशुल्क मातृत्व सेवा, सरूवा रोगसम्बन्धी सेवा, आयुर्वेद र परम्परागत सेवा, निःशुल्क औषधि सेवा, महामारी तथा विपत् व्यवस्थापन सेवा, योग तथा सहजीकरण सेवा, वृद्धवृद्धा स्वास्थ्य योग सेवालगायतका सेवा उपलब्ध हुनेछ।

सेवा प्रवाह गर्न चिकित्सकसहित १० जनाको दक्ष जनशक्ति छ । भरतपुर महानगरमा १३ स्वास्थ्यचौकी, ६ आयुर्वेदिक औषधालय र चार बर्थिङ सेन्टर छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार