सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थाले थारू महिला
कञ्चनपुर : लालझाडी गाउँपालिकाको देखतभूलीका राना थारु समुदायका महिला सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका छन्।
महिला स्वास्थ्य स्वयंसेविकाले घरमै प्रसूति हुँदा हुने जोखिमबारे सचेत पार्न थालेपछि थारु महिला सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका हुन्।
स्वास्थ्यचौकीमा वार्षिक रूपमा दुई सयभन्दा बढी महिला प्रसूति हुने गरेका छन्। गत आवमा १९४ महिला स्वास्थ्यचौकीमा प्रसूति भएकामा १११ राना थारु समुदायका महिला थिए ।
चालु आवको मङ्सिरसम्म १०७ महिलाले स्वास्थ्यचौकीमै पुगेर शिुशुलाई जन्म दिएका थिए। प्रसूति हुने महिलालाई स्वास्थ्यचौकीबाटै न्यानो झोला, झुल र यातायात वापतको रकम उपलब्ध गराउनाका साथै नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहन रकम उपलब्ध गराइने कारण स्वास्थ्य चौकीमा पुगेर बच्चा जन्माउनेको सङ्ख्या बढेको स्वास्थ्यचौकीका प्रमुख देखतभूली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले बताए।
विगतमा यस समुदायका थोरै मात्र महिला प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्ने गरेका थिए। झाका अनुसार जनचेतनाका कारण स्वास्थ्य चौकीमा प्रसूति हुने महिलाको सङ्ख्या बढेको हो।
महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिलाको घरमै पुगेर सुरक्षित प्रसूतिका लागि सचेत गराउन थालेका छन्। गर्भवती भएको अवस्थामा पोषणयुक्त खानासमेत नपाउँदा मातृ र शिशु मृत्युदर पनि बढी नै थियो। पोषणयुक्त खानेकुराले महिलाको गर्भमा रहेको शिशु स्वस्थ्य जन्मिने र गर्भवती महिला पनि निरोगी हुने भएकाले गर्भवती महिलाको हेरचाह गर्न थालिएको स्थानीयवासी दयाराम रानाले बताए।
उक्त स्वास्थ्यचौकीको सेवा क्षेत्र रहेको गाउँपालिका– ४, ५ र ६ का गर्भवती र अन्यलाई गरी महिला स्वास्थ्य स्वयंसेविकाले चालु आर्थिक वर्षको हालसम्म आठ हजार ६७१ जनालाई सेवा दिइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण