Health TV Online
Health TV Online
Health TV Online

बझाङका दुर्गममा स्वास्थ्य शिविर, दुई हजार सात सयले लिए सेवा

बझाङका दुर्गममा स्वास्थ्य शिविर, दुई हजार सात सयले लिए सेवा

बझाङ : जिल्लाका दुर्गम बुंगल नगरपालिका र दुर्गाथली गाउँपालिकामा सञ्चालित दुईदिने स्वास्थ्य शिविरमा दुई हजार सात सय भन्दा बढीले सेवा लिएका छन्।

नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरमा एक हजार पाँच सय ६१ जनाले सेवा लिएका छन्। गाउँपालिमा आयोजित स्वास्थ्य शिविरमा एक हजार एक सय ४५ सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका छन्।

वासुदेव प्रसाद जोशी प्रतिष्ठान, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर, नेपाल शान्ति स्काउट, उपकार सेवा नेपाल तथा माता मनकामना स्क्रीन प्रिन्टको सहकार्यमा यी दुई स्थानमा शिविर आयोजना गरिएको हो। शिविरकाे संयाेजन जिल्लाकाे तारामण्डल महिला सशक्तिकरण अभियानले गरेको हाे।

सदरमुकाम चैनपुरदेखि करिब ४० किलोमिटरको दूरीमा रहेको दुर्गाथलीको चौधारा माध्यमिक विद्यालयमा आयोजित पहिलो दिनको शिविरमा मौलाली तथा सैनपसेलाबाट घण्टौँ हिँडेर सेवाग्राही स्वास्थ्य उपचारका लागि पुगेका थिए।

यस्तै बुंगल नगरपालिकामा आयोजित शिविरमा विजगडादेखि देउकोट, दहबगर, खिरातरी र खोलेक आदि ठाउँबाट सेवा लिन आएकाे शिविरका संयोजक तथा अभियानका सदस्य त्रिविक्रम सिंहले जानकारी दिए।

शिविरमा बालरोग, हाडजोर्नी, दन्त, दम तथा अन्य रोगका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको थियाे।

शिविरमा गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले पहिलो प्राथमिकता स्वास्थ्य सेवा भएकोले सातै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने कामलाई अघि बढाएको जानकारी दिए।

बझाङको बुंगल नगरपालिकाका कतिपय स्थानमा अहिले पनि बिजुली पुगेकाे छैन। दुर्गाथली गाउँपालिकामा कच्ची मोटर बाटो पुगे पनि विकासका अन्य भौतिक पूर्वाधार अभाव छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार