Health TV Online
Health TV Online
Health TV Online

अस्पतालको छेवैमा खुलेआम बेचिन्छन् सुर्तीजन्य पदार्थ, सम्बन्धित निकाय गर्छन् देखे नदेख्यै

अस्पतालको छेवैमा खुलेआम बेचिन्छन् सुर्तीजन्य पदार्थ, सम्बन्धित निकाय गर्छन् देखे नदेख्यै

काठमाडाैं : नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन आएको सात वर्ष बितिसकेको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ नामक उक्त ऐनले सार्वजनिक स्थल, जस्तै– अस्पताल विद्यालय, बसपार्क, बाल उद्यान, धर्मशाला लगायतका स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ। तर अरु त कुरा छोडौँ, अस्पतालको गेटैमा धमाधम चुरोट बेच्ने मात्र होइन बिरामी भेट्न आउने आगन्तुदेखि पैदल यात्रुले त्यहीँ किन्छन् र चुरोट सल्काउँदै धुँवा उडाउँदै हिँड्छन्।

अधिकांश अस्पतालको गेटैमा बेचिन्छन् सुर्तीजन्य पदार्थ

पाटन अस्पतालको गेटमा तपाइँ पुग्नुभएको छ भने त्यहाँबिना रोकटोक सुर्तीजन्य पदार्थ किन्न पाइन्छ। अस्पताल जस्तो स्वास्थ्यका हिसाबले पनि अत्यनत संवेदनशील हातामा सुर्तीजन्य पदार्थ बेच्दा समेत सम्बिन्धत निकायको ध्यान गएको छैन।

जबकि अस्पताल स्वयंले यस्ता व्यक्तिलाई त्यहाँबाट निकाल्न सक्ने र सजाय दिन सक्ने ऐनमा उल्लेख छ। अस्पतालको छेवैमा नाङ्लो पसल गर्दै आएकी पसलेले डाक्टरहरूले नै चुरोट किनेर लाने गरेको बताइन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गेटमा पनि सुर्तीजन्य पदार्थ किन्नेहरू उत्तिकै हुन्छन्। अस्पतालमा बिरामी भेट्न आउनेहरूले बढी किन्ने गरेको पसलेको अनुभव छ।  ऐनबारे केही थाहा भए पनि आफूहरूलाई अहिलेसम्म  कसैले ‘यसरी नबेच’ नभनेको बताउँछन् उनीहरू।

वीर अस्पतालको त कुरौ नगरौँ, अस्पतालको गेटमै नाङ्लो पसलेको लस्कर नै छ। उनीहरूकोमा धेरै बिक्री हुने भनेकै चुरोट, गुट्का पानपराग हो। त्यसैले पनि उनीहरूले यस्ता सामग्री बढी राख्ने गरेका छन्। यीबाहेक कान्ति बाल अस्पताल शुक्रराज ट्रपिकल अस्पताल टेकु लगायगका अस्पतालको १०० मिटरभित्रै यस्ता पदार्थ खुलेआम बिक्री भइरहेका देखिन्छन्।

ऐनअनुसार सार्वजनिक स्थलको १०० मिटरभित्र किनबेच गर्न पाइँदैन। यस्तो पाइएमा सम्बन्धित संस्थाले समेत शुरुमा सम्झाउने र नमानेमा जरिवाना लिन सक्छन्। अस्पतालमा यस्ता सूचना समेत राखिएका छन्। तर त्यही सूचना टाँसिएकाे स्थानमै यस्ता पसलहरू छन्।

त्यसो त सहायक प्रमुख जिल्ला अधिकारी  यस्ता गतिविधि नियन्त्रण र नियमन गर्नका लागिनिरीक्षक हुन्। तर उनीहरूकाे यसमा खासिै चासाे देखिएकाे छैन ।  स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका टोबाको कन्ट्रोल शाखा प्रमुख डा भक्तबहादुर केसीले  ऐन अनुसार कडाइ गर्न नसकेकाे स्वीकार गरे। उनले भने,अब हामी सातै प्रदेशमा कसरी ऐन शसक्त बनाएर लाने भन्ने  विषयमा छलफलमा जुटिसकेकेा छौं । यसमा सबैजना जागरूक हुन पनि जरूरी जस्ताे लाग्छ।

नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्यान्सर लगायतका रोगबाट २५ हजार मानिसले ज्यान गुमाउने गरेकाे अनुमानित तथ्यांक छ।

थप समाचार