Health TV Online
Health TV Online
Health TV Online

जडिबुटी खेती गरेर राम्राे अाम्दानी

जडिबुटी खेती गरेर राम्राे अाम्दानी

भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीमा किसानहरूले जडीबुटी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्। थोरै जमीनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय गाउँमा जडीबुटीखेतीतर्फ किसानको आकर्षण बढेको हो। ‘एउटा सिजनको खेतीबाट र ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुन्छ’, स्थानीय बाटुदेवी साउद भन्छिन्, ‘अन्नबालीभन्दा यसबाट बढी फाइदा पुग्न थालेपछि किसानको आकर्षण बढ्दैछ।’

जडीबुटीको तेल प्रतिलिटर रु तीन हजारदेखि ५५ हजारसम्ममा बिक्री हुने गरेको साउदको भनाइ छ। बेल्डाँडीका किसान पछिल्ला वर्षमा अन्नबाली छाडेर जडीबुटीखेतीमा आकर्षित हुन थालेका छन् । मेन्था, लेमनग्रास, क्यामामाइल, असारे, लिपटिस, कडिपत्तालगायतका जडीबुटी खेती गर्दै आएका छन् ।

प्रशोधन गरेको मेन्थाको तेल प्रतिलिटर  ४० हजार रूपैयाँ, क्यामामाइलको तेल प्रतिलिटर ५५ हजार रूपैयाँ र कडिपत्ताको प्रतिलिटर तीन हजार रूपैयाँसम्म बिक्री हुने किसानको भनाइ छ। गहुँबाली भित्र्याएपछि खाली रहेको खेतमा जडीबुटी खेती गर्छन्। किसानले मेन्था प्रतिकठ्ठा चार किलो र म्यामाइल पाँच कठ्ठामा एक किलो उत्पादन गर्ने गरेको बताउँछन्। उत्पादन भएको तेल खरीद गर्न नेपालगञ्ज, सुर्खेतबाट व्यापारी गाउँमै पुग्ने गरेका छन्। जडीबुटीबाट उत्पादित तेल औषधि बनाउन बढी प्रयोग हुन्छ।

दातृ निकायको  पाँच लाख रूपैयाँ , परियोजना घुम्ती कोषको  एक लाख रूपैयाँ र सामुदायिक वनको  तीन लाख रूपैयाँ लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । शुक्लफाँटा नगरपालिकाको बेल्डाँडीसँगै यहाँको माहाकाली, भीमदत्तनगरपालिका, बेदकोट, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा समेत जडीबुटी खेती गरिँदै आएको छ। उत्पादित क्षेत्रमा एक दर्जन प्रशोधन केन्द्र स्थापना गरिएका छन्।

किसानसँगै यहाँका सामुदायिक वन समितिले पनि सामूहिक रूपमा पनि जडीबुटीखेती गरिरहेका छन्। जडीबुटीखेती गर्न गुणस्तरीय बीउबिजन सहजै उपलब्ध हुन नसकेको कृषकको गुनासो छ। यहाँको बेदकोट नगरपालिकाको बछेला सामुदायिक वन र हिमालय जडीबुटी समूहले करीब नौ बिघा जमिनमा क्यामामाइल खेती गरिरहेको छ। हिमालय जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले २०६७ सालदेखि व्यावसायिक रूपमा जडीबुटीखेती गरिरहेको बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार