किष्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया कार्यक्रम
हेल्थ टिभी अनलाइन : किष्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किष्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन अन्तर्गत बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेष शैक्षिक तथा चिकित्सकीय अन्तरक्रिया सम्पन्न भएको छ। यही भदौ ७ गते सम्पन्न कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्यसम्बन्धी तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति, उपचारका क्रममा अपनाउनुपर्ने दृष्टिकोण तथा जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकहरूबीच ज्ञान र अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा भारतको मेदान्ता, गुरुग्रामबाट बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा सन्दीपकुमार सिन्हाको विशेष सहभागिता रहेको थियो। उनले बाल शल्यचिकित्सा तथा बाल युरोलोजीका विभिन्न जटिल विषयमा विशेषज्ञ प्रस्तुति दिएका थिए ।
किस्ट टिचिङ हस्पिटलमा अनुभवी बहुविषयगत चिकित्सकीय टोली, विशेषज्ञ प्रत्यारोपण टोली तथा आवश्यक सम्पूर्ण क्लिनिकल सेवाहरू उपलब्ध रहेकाले नेपालमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुँदै आएको अस्पतालले जनाएको छ। मेदान्तासँगको सहकार्यले यस सेवामा अन्तर्राष्ट्रिय विशेषज्ञता तथा ज्ञान आदानप्रदानलाई थप मजबुत बनाउँदै नेपालमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यलाई बल दिएको अस्पतालको भनाइ छ।
यस सहकार्यअन्तर्गत जटिल स्वास्थ्य समस्या भएका बिरामीका लागि दोस्रो विशेषज्ञ राय तथा दूरचिकित्सा सेवासमेत उपलब्ध गराइँदै आएको छ। आवश्यकताअनुसार बिरामीहरूले मेदान्ता, गुरुग्रामका सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सक्ने व्यवस्था रहेको अस्पतालले जनाएको छ।
किस्ट टिचिङ हस्पिटलले किस्ट–मेदान्ता सहकार्यलाई शैक्षिक कार्यक्रममै सीमित नराखी विशेषज्ञ ज्ञान, दोस्रो राय, दूरचिकित्सा तथा उन्नत चिकित्सकीय सेवामार्फत बिरामीको उपचारको गुणस्तर र परिणाम सुधार गर्ने दिशामा निरन्तर अघि बढाउने जनाएको छ।
आगामी दिनमा पनि यस सहकार्यअन्तर्गत विभिन्न विशेषज्ञतामा केन्द्रित नियमित शैक्षिक कार्यक्रम, चिकित्सकीय अन्तरक्रिया तथा विशेषज्ञ परामर्शलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।





किष्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया कार्यक्रम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान