किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
हेल्थ टिभी अनलाइन : नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास लिइएको अस्पतालले जनाएको छ ।
विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको र करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।
यही भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो। बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ। किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा समेत सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
एउटी आमाको त्याग, चिकित्सकहरूको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले ५ वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ। यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको छ।





किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम
यसरी जोगाउनुस् मिर्गौला