जापानिज इन्सेफलाइटिसबाट बच्न विज्ञका तीन सुझाव
हेल्थ टिभी अनलाइन : क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफलाइटिस मस्तिष्क ज्वरोबाट बच्न विज्ञहरुले तीन सुझाव दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा विश्व स्वास्थ्य संगठन नेपाल (डब्लुएचओ) द्धारा आयोजित जापानिज इन्सेफलाइटिस सम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
विश्व स्वास्थ्य संगठनकी सर्भिलेन्स अफिसर डा सोनिया भगतले नेपालमा बढी पानी पर्ने समयमा यसको प्रकोप देखिने गरेको भन्दै यसबाट बच्न तीन काम गर्न सकिने जनाइन् । उनले पहिलो आफना बालबालिकालाई जेइ भ्याक्सिन लगाउने, दोस्रो लामखुट्टेले नटोकोस् भनेर पूरा बाहुला भएको कपडा लगाउने र झुल लगाएर सुतेमा धेरै हदसम्म यो रोग लाग्नबाट जोगिने बताइन् । उनले नेपालमा भदौदेखि कार्तिकसम्म तीन महिना जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढी देखिन समेत जानकारी दिइन् । उनले समयमै उपचार गरे यसबाट हुने क्षति कम गर्न सकिने भए पनि संक्रमण भएकामध्ये ३० प्रतिशतसम्म मृत्युदर रहेको जिकीर गरिन् ।
यसैगरी कार्यक्रममा डब्लुएचओका इम्युनाइजेसन तथा सर्भिलेन्स अफिसर डा राहुल प्रधान र डा पासाङ राईले नेपालमा जापानिज इन्सेफलाइटिसको अवस्था र बच्न गर्न सकिने थप पहलहरुकाबारेमा जानकारी दिएका थिए । यसैगरी डब्लुएचओका इम्युनाइजेसन प्रिभेन्टेवल डिजिज टिम लिडर डा बलविन्दर सिंह चावलाले जापनिज इन्सेफलाइटिसबाट बच्न खोप नै यसको प्रमुख सुरक्षाको उपाय भएको जनाउँदै सबैले यसविरुद्धको खोप लगाउन आवश्यक रहेको जिकीर गरे । उनले यो रोग सार्ने लामखुट्टे खेतवारीमा बढी हुने हुँदा लामखुट्टेको बासस्थान भएकातिर नजाने, आफू बसेको स्थान झाडी, पानी जमेको ठाउँ छन् भने त्यसलाई सफा गरिदिने, घर बस्ती नजिकै सुँगुर बंगुर तथा हाँस बकुल्ला फार्महरु नराख्ने गर्नु नै उपयुक्त हुने पनि जनाए । डा चावलाले जनचेतनाको अभावमा नागरिकहरु रोकथाम गर्न सकिने संक्रमणमा परिरहेको र मृत्यु समेत भएकाे भन्दै यसबारे जनचेतना फैलाउन स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
यसैगरी स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले पत्रकारहरुलाई प्राविधिक ज्ञान तथा क्षमता अभिबृद्धिका लागि डब्लुएचओसँग सहकार्य गरेको भन्दै यसलाई निरन्तरता दिएर अघि बढ्ने बताएका थिए ।
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने मस्तिष्क संक्रमण हो । यो संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ । यो मुख्य ग्रामीण तथा कृषि क्षेत्रहरुमा बढी देखिन्छ । धानबाली, दलदल, पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुन्छ । लामखुट्टेले संक्रमित सुंगुर बंगुर, वा जंगली चराहरुलाई टोकेर मानिसलाई टोक्दा सर्छ । यो मानिसबाट मानिसमा भने सर्दैन ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’