गर्मीमा कसरी गर्ने छालाको स्याहार ?

गर्मीमा कसरी गर्ने छालाको स्याहार ?

डा धर्मेन्द्र कर्ण

गर्मी मौसममा छालाको विशेष स्याहार गर्नुपर्छ । बढी घाम हुने र घामको एक्सपोजरले छालामा सिधै असर पुराउने हुँदा गर्मी मौसममा अलि बढी नै छालाको हेरचाह र स्याहार गर्नुपर्ने हुन्छ । हुनत छालाको स्याहार यो वा त्यो मौसममा भन्दा पनि सधैं नै गर्नुपर्ने हुन्छ । तर जब जब मौसमहरु परिवर्तन हुन्छन् त्यस बेला अझ बढी सजग हुन जरुरी हुन्छ । जाडो मौसममा एक प्रकारको वातावरणमा रहेको छाला र हाम्रो आनीबानी एकैपटक फरक पर्दा त्यसको असर छालामा पर्न जान्छ । त्यसैले मौसम अनुसार के कसरी आफूलाई र आफनो छालालाई स्वस्थ राख्ने भन्ने जान्न जरुरी हुन्छ । अब गर्मी मौसममा छाला स्वस्थ राख्न के गर्ने त ?

गर्मी मौसममा चर्को घाम र तातो हावाले हाम्रो छालालाई फुस्रो बनाउँछ । त्यसैले यो बेला प्रत्येक दिन नुहाएर पानी हल्का भएकै बेला शरीरमा मोस्चराइजर क्रिम वा आफूलाई मनपर्ने तेलको प्रयोग गर्नु राम्रो हुन्छ । यसले छालालाई दिनभर सुख्खा हुन दिंदैन । मोस्चराइजर वा तेलले धुलोका कणहरुलाई छालाको भित्रि तहसम्म जान दिंदैनन । यसैगरी गर्मीको बेलामा सकेसम्म हाफ स्लिप कपडा लगाउन हुँदैन । फुल स्लिप कपडा लगाएर हिंड्दा छालालाई सिधै घामको असरबाट जोगाउन मद्दत गर्छ । यसैगरी सुतीको हल्का किसिमको र खुकुलो कपडा लगाउनुपर्छ । कस्सिएको कपडाले शरीरमा पसिना निकाल्ने र त्यो सुक्न नपाएर फंगस पैदा गर्न सक्छ । त्यो पछि दाद वा दुबीको रुपमा आउन सक्छ ।  त्यसैले गर्मी महिनाभर खुकुलो किसिमको कपडा लगाउन सल्लाह दिइन्छ ।

गर्मी भयो भनेर हामी घर तथा अफिसमा एसीको प्रयोग गछौं । यसले पनि हाम्रो छाला सुख्खा बनाउँछ । अब अनुहारको कुरा गर्दा नियमित रुपमा घामबाट जोगिन तीन तीन घण्टामा सन ब्लक लगाउने गर्नुपर्छ । यसले घामको ताप र राप दुबैबाट जोगाउन मद्दत गर्छ । घाममा निस्कनै नपरे पनि सन ब्लक चाहिं लगाउनैपर्छ । धेरै जनाले घरबाहिर जाने होइन भनेर सन ब्लक लगाएको पाइँदैन । घरमा बस्दा होस वा बाहिर जाँदा सन ब्लक अनिवार्य लगाउनुपर्छ । यसले हामीले चलाउने मोबाइल, ल्यापटप, कम्प्युटर लगायतका ग्याजेटबाट निस्कने ब्लु लाइटको असरबाट पनि जोगाउँछ । कामबाट घर फर्केपछि हामीले अनिवार्य अनुहार सफा पानीले पखाल्नुपर्छ । दिनभर हाम्रो अनुहारमा धुलोका कण, फोहोर जम्मा भएर बस्ने हुन्छ । त्यसलाई राम्ररी पखालेर मोस्चराइजर क्रिम लगाउनुपर्छ । यसैगरी सुत्नेबेला डाक्टरको सल्लाह अनुसार नाइट क्रिम लगाउन सकिन्छ ।

यसैगरी गर्मीमा पसिना बढी जाने हुँदा अन्य समयभन्दा यो बेला प्रशस्त पानी पिउनुपर्छ । बजारमा पाइने चिनीयुक्त पेयपदार्थ भन्दा घरमै सादा पानी पिउनु निकै फलदायी हुन्छ । बजारका सुगरी ड्रिंक्सले केही छिन तिर्खा मेटाए जस्तो भए पनि त्यसले पछि असर पर्छ । त्यसैले जुसिला फलफूल खान सकिन्छ । सकेसम्म चर्को घाममा घरबाट ननिस्कने र निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्छ । छालाको स्याहार गर्दागर्दै पनि केही समस्या आएमा भने छाला रोग विशेषज्ञकोमा जानुपर्छ।

वरिष्ठ छालारोग विशेषज्ञ प्राडा कर्णसँगकाे कुराकानीमा आधारित : 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?