चाडबाडमा पनि छालाको हेरचाह गर्न नबिर्सौ !

हेल्थ टिभी अनलाइन : नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ पर्व नजिकिंदैछ । यो बेला जो जहाँ भएपनि आ आफनो थातथलोमा फर्केर जाने प्रचलन छ । ठूलाको आर्शिवाद लिनका लागि र पारिवारीक मिलनका लागि खास गरी दसैंमा आ आफनो गाउँ फर्किने गरिन्छ । यही बेला मौसम परिवर्तन भएर गर्मीबाट बिस्तारै चिसो सुरु हुने हुन्छ । यो बेला हाम्रो छाला लगायतको अन्य स्वास्थ्यमा पनि बढी ध्यान दिन आवश्यक हुन्छ ।
चाडबाडसँगै हामीले हाम्रो समग्र स्वास्थ्यको पनि ख्याल गर्नपर्छ । दसैंमा रमाइलोका कारण हामीले हाम्रो दैनिक जीवनमा गर्नुपर्ने कामहरु भने बिर्सन हुँदैन । त्यसमध्ये एक हो छालाको हेरचाह । दसैंमा निधारभरी रातो टीका लगाउने गरिन्छ । खासगरी विजयादशमीका दिन निधारभरि टीका र शिरमा जमरा लगाउने हामी नेपालीहरूको चलन छ। यो दिन रातो टीका र जमरा लगाइदिँदै मान्यजनले आफूभन्दा सानालाई आशीर्वाद दिन्छन्। यसरी टिका बनाउने अबिरमा हुने रसायनले छालामा एलर्जी गरि छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, घाउ हुने, घाउ निको हुँदा सेतो दाग बस्ने हुन सक्छ। त्यस्ता समस्या देखिएमा टिका धेरै बेर नराखी तुरुन्त टिकालाई पखाल्नु पर्छ ।
कतैकतै विजयादशमीको दिनदेखि पूर्णिमासम्म अर्थात् ५ दिन टीका लगाउने चलन छ। कसैकसैको छाला निकै संवेदनशील हुन्छ। यस्ता छाला भएका व्यक्तिलाई अबिरले ‘एलर्जी’ समस्या हुनसक्छ त्यसबारे चनाखो हुनुपर्छ र त्यही अनुसार स्याहार गर्नुपर्छ । त्यस्तै पहिलेदेखि नै छालाको समस्या भएका व्यक्ति, डण्डिफोरको समस्या भएका व्यक्तिलाई पनि अबिरले असर गर्छ। कतिपय अवस्थामा त यसले अझ बढी घाउ खटिरा निकालेर दुःख दिन्छ। त्यसैले टीका बनाउँदा कस्तो अबिर प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। सकेसम्म प्राकृतिक रङको प्रयोग गरेर टीका बनाउनुपर्छ । हामी देख्छौँ, एक साता बितिसक्दा पनि कतिपय मानिसको दशैँको टीकाको रङ निधारमा हुन्छ । अर्थात् जति धोए पनि रङ जाँदैन। कतिपय व्यक्ति रङ गएन भनेर साबुनले यति छाला रगटेर घाउ नै बनाएर आउने गर्छन्। यस्तो अवस्थामा साबुन पानीले रगटेर धुनु हुँदैन। यसले झन समस्या बनाउँछ। यदि कलर गएन भने ‘मोस्चराइजिङ क्रिम’ लगाएर बिस्तारै पुछ्नुपर्छ। यसले छालालाई नरम बनाउँछ। यदि बढी समस्या भएमा चिकित्सकलाई देखाउन सकिन्छ ।
यसैगरी चिसो मौसम सुरु हुन लागेकाले हाम्रो छाला सुख्खा हुन्छ । त्यसैले हामीले दिनमा तीनदेखि चारपटक मुख राम्रोसँग सफा पानीले धोएर मोस्चराइजिङ क्रिम लगाउन जरुरी हुन्छ। यसैगरी नुहाएपछि शरीरमा नरिवलको तेल वा क्रिम लगाउन सकिन्छ । कतै घाममा निस्कन परेमा छाता वा ह्याटको प्रयोग गर्न सकिन्छ । यसले सिधै पर्ने घामको किरणबाट जोगाउँछ । यसैगरी यात्रामा निस्कदा पनि आफूले लगाइरहेको क्रिम तथा औषधि छुटाउन हुँदैन ।
अर्को महत्त्वपूर्ण कुरा, चाडबाडका बेला हामी अन्य कुरा धेरै खाए पनि पानी खान बिर्सिन्छौँ। यो एकदमै गलत हो। स्वस्थ छालाका लागि पानी एकदमै आवश्यक छ। दशैँतिहार जस्ता चाडमा स्वास्थ्यप्रति सचेत त बन्नुपर्छ नै, छालाको हेरचाहमा पनि विचार पुर्याउन आवश्यक हुन्छ । आफनो समग्र स्वास्थ्यको ख्याल गर्दै चाडबाड मनाऔं । सबैलाई दशैं तिहार तथा छठको शुभकामना ।
वरिष्ठ छालारोग विशेषज्ञ डा धर्मेन्द्र कर्णसँग कुराकानीमा आधारित :
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा