सुरुमै उपचार गरे निको हुन्छ ‘हेड एण्ड नेक क्यान्सर’

हेड एण्ड नेक क्यान्सर भनेको टाउकोदेखि घाँटीको तल्लो भागसम्म पर्ने सबै अंगहरुमा हुने क्यान्सर भन्ने बुझिन्छ । यसमा आँखाको क्यान्सर, मुखको क्यान्सर, जिब्रोको क्यान्सर, अनुहारको छालाको क्यान्सर, ओठको क्यान्सर, र्याल ग्रन्थीको क्यान्सर पर्दछन् । यसैगरी खाना नली, थाइराइड ग्रन्थी, घाँटी आदी पर्दछन् । यी अंगहरुमध्ये सबैभन्दा धेरै देखिने भनेको पुरुषहरुमा मुखको क्यान्सर र महिलाहरुमा थाइराइड क्यान्सर हो ।
हेड एण्ड नेक क्यान्सरको प्रमुख कारण भनेकै सुर्तीजन्य पदार्थको सेवन हो । नेपालमा हेड एण्ड नेक क्यान्सर भएको बिरामीको हिस्ट्री लिंदा ९० देखि ९५ प्रतिशत कारण उनीहरुले सेवन गरेको सुर्तीजन्य पदार्थ नै कारक तत्व देखिएको छ । यो क्यान्सर भएर आउने ९० प्रतिशतले आ आफनो जीवनकालमा कुनै न कुनै समय सुर्तीजन्य पदार्थ सेवन गरेको पाइने गरेको छ । यसले पनि के बुझाउँछ भने सुर्तीजन्य पदार्थको सेवन कम गर्दा वा रोक्दा यो क्यान्सर आफै कम भएर जान्छ । अन्य कारण ५ देखि १० प्रतिशत हुन्छन । जसमा दाँत तिखो भएर मुख तथा गिंजामा ठोकिरहनु र त्यसले घाउ बनाउँदा पनि मुखमा क्यान्सर हुनसक्छ । त्यसैगरी मुखको सफाईमा ध्यान नदिंदा पनि हुनसक्छ ।
नेपालमा पछिल्लो समय हेड एण्ड नेक क्यान्सरका बिरामीको संख्या बढ्दो छ । अहिले हेड एण्ड नेक क्यान्सर हुनेमा ३० देखि ४५ वर्ष समूहका व्यक्तिको संख्या धेरै छ । कमाउने केही गर्ने उमेरमा क्यान्सर भएर अस्पताल बस्नुपर्दा बिरामी मात्र होइन बिरामीको आफन्तलाई पनि मानसिक र आर्थिक समस्यामा परेकाे देखिन्छ ।
उपचारको कुरा गर्दा यो क्यान्सरको सम्पूर्ण उपचार नेपालमै सम्भव छ । सुरुकै अवस्थामा पत्ता लागेमा हेड एण्ड नेकको क्यान्सर पूर्ण रुपमा निको बनाउन सकिन्छ । तर दुखको कुरा हेड एण्ड नेक क्यान्सरका ६० प्रतिशतभन्दा बढी बिरामी एडभान्स स्टेजमा आउँछन् । सजले गर्दा उपचारमा निकै समस्या हुने मात्र होइन कतिलाई चाहेर पनि निको बनाउन सकिंदैन । यसै पनि जुनसुकै क्यान्सरमा जति छिटो पहिचान गरेर उपचार सुरु गर्यो त्यति नै छिटो निको हुने र उपचार विधि पनि सहज हुन्छ । त्यसैगरी त्यही नियम हेड एण्ड नेक क्यान्सरमा पनि लागू हुन्छ । यो क्यान्सर पनि सुरुमै पत्ता लागेमा सर्जरी मात्र गरेर पनि निको बनाउन सकिन्छ । जति ढिला आयो त्यति नै उपचार जटिल बन्दै जान्छ । सर्जरीसहित किमो, रेडियोथेरापी सबै विधि अपनाउन पर्ने हुनसक्छ । निको हुन पनि लामो समय लाग्छ । यस्तो क्यान्सर फेरि बल्झिने समस्या पनि हुनसन्छ ।
त्यसैले मुखमा कुनै पनि अप्ठेरो भयो वा कुनै असामान्य लक्षण महशुस भयो भने ढिलो नगरी एकपटक जाँच गर्ने बानी बसाल्न जरुरी छ । यति गर्न सकियो भने क्यान्सर भए बेलैमा पत्ता लाग्छ भने नभए पनि ढुक्क हुन सकिन्छ ।
हेड एण्ड नेक क्यान्सर धेरै आफनै खानपानले हुने भएकाले यसबाट जोगिन पहिलो कुरा त सुर्तीजन्य पदार्थको सेवन छोड्नपर्छ । दोस्रो आफनो मुखको सरसफाईमा विशेष ध्यान दिन आवश्यक छ । र केही लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाएर समस्याको पहिचान गरी उपचार सुरु गर्नुपर्छ
हेड एण्ड नेक क्यान्सर विशेषज्ञ डा प्रभात चन्द्र ठाकुर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत छन् ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा