गर्मी मौसममा देखिने समस्याबाट कसरी बच्ने ?
जब जब मौसम परिवर्तन हुन्छ तब तब रोगहरु पनि फरक फरक किसिमका देखा पर्छन् । अहिले काठमाडौं सहित देशभर नै गर्मी बढिरहेको छ । यो मौसममा सिजनल समस्याहरु लिएर आउने बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । गर्मी मौसममा रुघाखोकी, ज्वरो, झाडापखाला, हैजा, डेंगु, वाकवाकी लाग्ने, वान्ता हुने, फुड पोइजनिङ, टाइफाइड लगायतका समस्या बढी देखा पर्छन । गर्मी मौसममा पानी र खानेकुरासँग सम्बन्धित समस्याहरु बढी देखिन्छन्। कतिपय यी विभिन्न मौसमी रोगहरु हाम्रै जीवनशैली र स्वस्थकर आहार व्यवहारसँग पनि सम्बन्धित हुन्छन्। त्यसैले हाम्रो बानीमा सुधार गर्ने हो धेरै हदसम्म यस्ता समस्याबाट बच्न सकिन्छ ।
यसका साथै यो बेला लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया, जापानिज इन्सोप्लाइटिस पनि यही मौसममा सक्रिय हुन्छन् ।
यो बेला सफा पानी प्रशस्त पिउने, खानेकुरामा ध्यान दिने, बिहानको खाना बिहान नै र बेलुकाको खाना बेलुका नै ताजा पकाएर खाने गर्नुपर्छ । मिनरल वाटर खाएँ भन्दैमा त्यो सफा हुन्छ भन्ने होइन । अहिले धेरै रोग पानीका कारण आइरहेको हुन्छ र दूषित पानीका कारण टाइफाइड, झाडापखाला, पेट दुख्ने जस्ता समस्या बढिरहेका हुन्छन्। त्यसैले पानी पहिलो नंबरमा ख्याल गर्नुपर्ने विषय हो । सकेसम्म पानी उमालेर चिसो पारेर खाएको राम्रो । उमाल्न नसकेको खण्डमा निर्मलीकरण तथा फिल्टर गरेर पिउन सकिन्छ । तर मिनरल त हो वा जारको पानी त हो भनेर ढुक्क भएर पिउन मिल्दैन । यसले समस्या निम्त्याउन सक्छ ।
यो बेला धेरै फलफूलको सिजन पनि हो । कतिपय फलफूल समय अगावै विभिन्न केमिकल राखेर पकाएर बजारमा ल्याइएको हुन्छ । यस्ता फलफूलले हाम्रो स्वास्थ्यमा सिधै असर गर्छ । सकेसम्म फलफूललाई घरमा लगेर सफा पानीले राम्ररी पखालेर केही वेर पानीमा डुबाएर खानु राम्रो हुन्छ । फलफूललाई सिधै टोकेर खान हुँदैन । यसको बाहिरी भागमा किटाणुहरु हुन सक्छन्। सिधै टोकेर खाँदा किटाणु मुख हुँदै पेटसम्म पुगेर बिगार गर्छन । अहिले आँपको सिजन छ । धेरैको बानी आँप चुसेर खाने हुन्छ । तर आँप चुसेर खान हुँदैन । सकेसम्म काटेर टुक्रा बनाएर खानु राम्रो । जसले फुड पोइजनिङ गराउने, वान्ता गराउने, पेट दुख्ने हुनसक्छ । यसैगरी बाहिर भोज भतेरहरुमा जाँदा काँचो सलाद खाँदा राम्ररी धोएको छ छैन बुझेर मात्र खानुपर्छ । यसरी सफा पानीले नपखालिएको सलाद भएमा पनि पेट दुख्ने, पखाला लाग्ने जस्ता समस्या हुनसक्छ ।
अर्को कुरा हाम्रो बानी खानेकुरा धेरै दिनसम्म फ्रिजमा राखेर खाने हुन्छ । फ्रिजमा राख्दैमा सबै खानेकुरा स्वस्थ हुन्छ भन्ने होइन । फ्रिजमा कसरी राख्ने त्यो पनि महत्वपूर्ण हो । फ्रिजमा खाना खुल्ला राख्दा उल्टो किटाणुहरु पस्छन् र त्यसले स्वास्थ्यमा हानी गर्छ । त्यसैले फ्रिजमा सबै खाना राम्ररी छोपेर मात्र राख्नुपर्छ । यो गर्मी सिजनमा पकाएको खाना २४ घण्टा भन्दा बढी फ्रिजमा राख्नु स्वस्कर होइन । यसैगरी बत्ती पनि गइरहन्छ त्यसले कोल्ड चेन मेन्टेन गर्न सक्दैन । जसले खाना स्वस्थ रहिरहन सक्दैन । अर्कोकुरा पकाएको र काँचो खाना पनि छुट्टाछुट्टै राख्नुपर्छ । अन्यथा एक अर्कोको व्याक्टेरिया सर्न सक्छ ।
गर्मीमा देखिने समस्याबाट बच्न के गर्ने त ?
-साबुन पानीले हात धोइरहने
-बाहिर निस्कदा मास्क लगाउने
-बाहिरको खाना सकेसम्म नखाने
-खाना राम्ररी पकाएर खाने
-पानी उमालेर मात्र पिउने
-फलफूल सिधै टोकेर नखाने
-खानेकुरा फ्रिजमा धेरै दिन राखेर नखाने
-बासी, सडेगलेका खाना नखाने
-ताजा र स्वस्थकर खाना मात्र खाने
-प्रसस्त पानी पिउने
गर्मीसँगै देशको सबै क्षेत्रमा विभिन्न रोगको संक्रमण बढ्ने खतरा भएकाले यसबाट बच्न सबैले सन्तुलित र स्वस्थ खानपानसहित स्वस्थकर जीवनशैलीमा ध्यान दिन जरुरी हुन्छ ।
(कन्सल्टेन्ट फिजिसियन डा प्रकाश श्रेष्ठ स्पार्क पोलि क्लिनिक कालिमाटी र वयोधा अस्पतालमा कार्यरत छन् ।)
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा