यस्ता लक्षण देखिए हुनसक्छ थाइराइड : डा सुकान्ति शाह
खासमा भन्ने हो भने थाइराइड आफैमा रोग होइन । यो हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । जसलाई थाइराइड ग्रन्थी भनिन्छ । यो हाम्रो घाँटीमा पुतली आकारमा बसेको हुन्छ । थाइराइड ग्रन्थीको काम भनेको थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्छ जुन हाम्रो शरीरको अत्यावश्यक हर्मोन हो । यही थाइराइड ग्रन्थीमा कारणवश हर्मोन कम उत्पादन भयो वा बढी उत्पादन गर्यो वा अन्य केही समस्या भएमा त्यसलाई थाइराइड रोग भनिन्छ ।
खासमा थाइराइड हर्मोन हाम्रो शरीरलाई एकदमै आवश्यक पर्छ । शरीरका हरेक अंगले राम्रोसँग काम गर्नका लागि यो हर्मोन चाहिन्छ । जसले शरीरको आवश्यकता अनुसार हर्मोन उत्पादन गर्ने काम गर्छ । तर थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । शरीरले आवश्यकताभन्दा बढी हर्मोन उत्पादन गरेमा त्यसलाई हाइपर थाइराइडिज्म र कम उत्पादन गर्नुलाई हाइपो थाइराइडिज्म भनिन्छ । थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । खासगरी प्रजनन उमेरका महिलालाई हाइपो थाइराइडिज्म रोगले बढी सताउने गर्छ । साथै कसै कसैमा थाइराइड ग्रन्थीमा गिर्खा आउने वा क्यान्सर पनि हुनसक्छ । यही तीन प्रकारका थाइराइडको समस्या बढी मात्रामा देखिने गर्छ ।
अब कुरा उठ्छ थाइराइड साह्रै डरलाग्दो रोग हो त भन्ने ? थाइराइड रोग जटिल र डराउनु पर्ने खालको होइन। यसले हाम्रो आयु घटाएर मृत्युको मुखसम्म पुराउँदैन्। यो रोगलाई समयमै पत्ता लगाएर चिकित्सकको सल्लाह बमोजिम नियन्त्रणमा राखेमा यसले खासै बिगार्दैन । तर चिकित्सकको सल्लाह बमोजिम औषधि तथा खानपानको ख्याल गर्नुपर्छ ।
यो अन्य कारणभन्दा पनि अटोइम्युन रोग हो । जुन हाम्रो शरीरको आफनै इम्युन सिस्टमका कारणले हुने गर्छ । यो शरीरको आफ्नै कारण अटो इम्युन ले हुने रोग हो । थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ किनभने हर्मोनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। महिलाको महिनावारी, गर्भधारण, बच्चा जन्माउने विभिन्न अवस्थाका कारण हर्मोनमा परिवर्तन भइरहन्छ । त्यसैले पनि यो समस्याको शिकार बढी महिला नै हुने गर्छन्।
हाइपो थाइराइडमा र हाइपर थाइराइडमा देखिने लक्षणहरु फरक फरक हुन्छन्।
हाइपो थाइराइडमा देखिने लक्षणहरु :
अल्छी लाग्ने
तौल बढ्ने
बच्चा बस्न समस्या हुने
शरीर सुन्निने
कपाल झर्ने
छाला फुस्रो हुने
महिनावारी गडबड हुने।
हाइपर थाइराइडमा दखिने लक्षणहरु :
तौल घट्दै जाने
शरीर तातो हुने
निन्द्रा नलाग्ने
मुटुको धड्कन बढेजस्तो हुने
हात, खुट्टा काँप्ने
चिडचिड पसिना आउने
बढी रिस उठ्ने
थाइराइडमा खाना बार्नुपर्छ त ?
थाइराइड रोग खानेकुराका कारण हुने रोग होइन । त्यसैले यसमा खाना बार्नुपर्दैन । बन्दा काउली, गाजर जस्ता खानेकुरा खान हुन्न भनेर धेरै जना बिरामी आउनुहुन्छ । तर त्यसरी खाना बार्नै पर्दैन । स्वस्थकर खाना सबै खालका खान मिल्छ । बढी चिल्लो, रातो मासु, तारेको भुटेको मासु, सुर्तीजन्य पदार्थ मद्यपान यी कुरा भने नखाएको राम्रो जुन अन्य व्यक्तिले पनि खान हुँदैन ।
थाइराइडको समस्या स साना बच्चाहरुमा पनि हुनसक्छ । यदि आमा बाबुमा छ भने उनीहरुलाई पनि हुनसक्ने सम्भावना हुन्छ । यदि बच्चाका उचाई बढेको छैन्, तौल धेरै छ अल्छी गर्छ, पढ्नमा मन गर्दैन भने कतै थाइराइडको समस्या पो छकी भनेर एकपटक जाँच गर्न सकिन्छ ।
(थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा शाह आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)
भिडियो :




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य