क्यान्सर हुँदैमा डराउनु पर्दैन्, सुरुकै अवस्थामा उपचार गरे निको हुन्छ
डा विजेशराज घिमिरे, क्यान्सर रोग विशेषज्ञ
पछिल्ला केही वर्ष यता क्यान्सरबारे सचेतना त बढेको छ । तर अझै पनि क्यान्सर लाग्यो भने यसबाट डराएर लुकाएर राख्ने तथा अब मरिहालिन्छ की भन्ने सोचेर उपचार नै नगर्ने की भन्नेसम्म गरेको पाइन्छ । तर क्यान्सर हुँदैमा कोही पनि डराउनु पर्दैन । क्यानसर उपचारमा नयाँ नयाँ औषधि तथा उपचार प्रविधि आएका छन्। सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गरेमा क्यान्सर पनि अन्य रोग जस्तै पूर्ण रुपमा निको हुन्छ । क्यान्सर हुनु भनेको जीवन नै समाप्त हुनु होइन ।
हो क्यान्सर आफैमा दुख दिने र खर्चिलो रोग हो । यसको सही उपचार सही समयमै पत्ता लगाएर गरिएन भने यसले दुख दिने तथा मृत्यु गराउँछ । तर सही समयमै पत्ता लगाएर उपचार गर्दा यो रोगसँग डराउन पर्दैन । क्यान्सरलाई जित्न सकिन्छ । क्यान्सरको सफल उपचारपछि सामान्य जीवन बिताइरहेकाहरु कयौं सर्भाइभर हाम्रै समाजमा थुप्रै छन्।
अर्को कुरा क्यान्सर हुनै नदिनका लागि अपनाउनुपर्ने केही सावधानीहरु सबैले अपनाउन जरुरी छ । पछिल्लो समय सबै जनाको जीवनशैली हतार हतारको छ । जसले गर्दा हामी आफूले आफैलाई समय दिइरहेका छैनौं । क्यान्सरको जोखिममा अत्यधिक मोटा व्यक्ति, सुर्तीजन्य पदार्थ तथा मद्यपानको प्रयोग गर्ने, शारीरिक व्यायाम नगर्ने, पोलेको भुटेको, बाेसाे भएकाे खानेकुरामा बढी रमाउनेहरु पर्छन । यसबाहेक केही क्यान्सर वंशाणुगत रुपमा पनि आउँछन्। साथै विकिरण्को कारण पनि क्यान्सर हुनसक्छ । यी जोखिमबाट हामी सचेत भएर नियमित आफनो स्वास्थ्य परीक्षण गर्ने र स्वस्थ र फिट रहन प्रयास गर्ने हो भने धेरै हदसम्म हामी क्यान्सरबाट जोगिन सक्छौं ।
अर्को कुरा सबै खालका क्यान्सरका सुरुवाती लक्षण अन्य रोगहरुमा देखिने जस्तै हुनसक्छन्। तर कुनै पनि लक्षण दुई साताभन्दा बढी वा महिनौं रहिरहन्छ भने त्यस्तो अवस्थामा कतै क्यान्सर त होइन भनेर शंका गरेर परीक्षण गराउनुपर्छ । क्यान्सर पत्ता लाग्ने बित्तिकै उपचार सुरु गर्नुपर्छ । सही समयमा, सही ढंगले उपचार गरेमा क्यान्सरबाट मुक्त हुन सकिन्छ ।
अहिले नेपालमा पनि सबै खालका क्यान्सरको उपचार हुन्छ । क्यान्सरकै उपचारका लागि बाहिर जानु पर्दैन । अहिले पनि नेपालमा ६० देखि ६५ प्रतिशत बिरामी तेस्रो, चौंथो स्टेजमा आउँछन्। जुन समयमा अधिकांश बिरामीको क्यान्सर धेरै नै फैलिसकेको हुन्छ र उपचारबाट पूर्ण रुपमा निको पार्न सकिंदैन । त्यसैले क्यान्सर सुरुवाती अवस्थामा पत्ता लगाउने उपाय भनेकै स्वस्थ हुँदा नै आफनो स्वास्थ्य परीक्षण गर्ने हो ।
हरेक वर्ष फेब्रअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । यस वर्ष ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ । जुन यो साताभरी विभिन्न कार्यक्रम गरी मनाइने छ ।
क्यान्सर हुनुका प्रमुख कारणहरु
१. सुर्तीजन्य पदार्थको सेवन
२. मद्यपानको सेवन
३. अस्वस्थकर खानेकुरा (पोलेका, भुटेका, ढुसी परेका, तारेका खानेकुरा)
४. वातावरणीय प्रदूषण
५. विकिरण
६. शारीरिक व्यायामको कमी
७. मोटोपन
भिडियाे :



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य