मधुमेह नियन्त्रण : बिरामीले अपनाउनैपर्ने ४ उपाय
हेल्थ टिभी अनलाइन : हरेक वर्ष विश्वभर १४ नोभेम्बरका दिन विश्व मधुमेह दिवस मनाउने गरिन्छ । नेपालमा पनि मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन यो दिवस मनाउँदै आइएको छ । सरल भाषामा भन्नुपर्दा मानिसको शरीरको रगतमा चाहिनेभन्दा बढी चिनी जम्मा भएमा मधुमेह भएको मानिन्छ । बिरामीको रगतमा चिनी बढ्दा शरीरमा भने यसको मात्रा कम हुन जान्छ । जसले गर्दा आलस्य हुने, दुब्लाउँदै जाने जस्ता समस्या देखा पर्छन । रगतमा गएर चिनी थुप्रिदा इन्सुलिनको कमीले गर्दा अन्य अंगहरुमा भने यसको अभाव हुन जान्छ ।
हामीले खाएको खाना शरीरभित्र गएर चिनी अर्थात ग्लुकोजकाे रुपमा परिवर्तन हुन्छ । यो हाम्रो शरीरको मुख्य शक्तिको स्रोत पनि हो । ग्लुकोजलाई हाम्रो शरीरको हरेक अंगमा पुराउने काम इन्सुलिनले गर्छ । इन्सुलिन प्यान्क्रियाज ग्रन्थीले उत्पादन गर्छ । तर कहिलेकाहीं यो ग्रन्थीमा विभिन्न कारणले समस्या देखिन सक्छ । यो अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन वा शरीरमा बोसो बढी हुनेहरुमा इन्सुलिनले बढी मात्रामा काम गरे पनि अंगभित्र प्रयाप्त मात्रामा चिनी जाँदैन । हामीलाई चाहिने ग्लुकोज शरीरका हरेक अंगमा प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बस्न थाल्छ । यसो हुँदा शक्तिको रुपमा प्रयोग गर्नुपर्ने ग्लुकोज प्रयोग हुन सक्दैन । यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढेको हुन्छ भने शरीरमा ग्लुकोज नपुगेर शरीर कमजोर हुँदै जान्छ ।
मधुमेहकाे जोखिममा को पर्छन् ?
बढी मोटोपना भएका व्यक्ति, शारीरिक व्यायाम नगर्ने व्यक्ति, बढी जंकफुड खाने तथा बढी तनाव लिने व्यक्तिमा मधुमेहको जोखिम हुने गर्छ । तर कहिलेकाहीं वंशाणुगत रुपमा पनि यो रोग आउन सक्छ । यो रोग धेरै जसो भने हाम्रै आनीबानी, जीवनशैलीसँग सम्बन्धित रोग हो । त्यसैले सानो उमेरदेखि नै स्वस्थ जीवनशैली अपनाएमा मधुमेह हुने सम्भावना कम हुन्छ ।
यो रोगले अन्य रोगहरु पनि सँगसँगै ल्याउन सक्ने सम्भावना हुँदा रोग लाग्नै नदिनतर्फ बढी चनाखो हुनुपर्छ । अर्को कुरा औषधि खाएर मात्र सुगर नियन्त्रण हुँदैन् । यसमा खानपान, जीवनशैली र व्यायामको पनि त्यत्तिकै भूमिका हुन्छ । बिरामीले मैले औषधि खाएकै त छु भनेर व्यायाम नगर्ने, मनपरी खानेकुरा खाने गरेमा यो रोग कहिल्यै नियन्त्रण हुँदैन । यसैगरी जीवनशैली मात्र परिवर्तन गरेर मधुमेह नियन्त्रण गर्छु भनेर औषधि खान छोड्दा पनि यसले झन जटिलता ल्याउन सक्छ । यसैगरी खानपान बारेकै छु मात्र पनि भनेर हुँदैन । यसमा ४ खम्बालाई सँगसँगै अपनाउनै पर्छ । ती ४ खम्बा भनेका यसप्रकार छन्।
खम्बा १. नियमित डाक्टरको सल्लाहमा औषधिको सेवन गर्ने।
खम्बा २. नियमित शारीरिक व्यायाम गर्ने ।
खम्बा ३. डाइटिसियनको सल्लाह बमोजिम खानपान मिलाउने
खम्बा ४. तनाव नलिने
माथि उल्लेखित ४ खम्बाको मधुमेह नियन्त्रण गर्न २५ \२५ प्रतिशत भूमिका हुने गर्छ । एउटा मात्र पनि फलो गरिएन भने यो नियन्त्रणमा समस्या हुनसक्छ । त्यसैले स्वस्थकर खानेकुरा शारीरिक व्यायाम, औषधिको मात्रा एकदम ठीक तरिकाले सन्तुलित राख्ने र तनाव नलिने हो भने धेरै हदसम्म मधुमेह रोगलाई नियन्त्रणमा राखी यसबाट हुनसक्ने जटिलताबाट बच्न सकिन्छ । यसका साथै आफूलाई मधुमेह छ छैन थाहा पाउनका लागि ६ \६ महिनामा आफनो सुगर जाँच गरेमा सुरुकै अवस्थामा वा प्रि डाइबेटिज अवस्थामै पत्ता लाग्छ र यसको उपचार पनि सहज हुनेगर्छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?