Health TV Online
Health TV Online
Health TV Online

‘कोभिड-१९ का कारण पत्रकारको पेशागत चुनौती थपियो’

‘कोभिड-१९ का कारण पत्रकारको पेशागत चुनौती थपियो’

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले नेपालको पत्रकारिता क्षेत्रमा पनि पेशागत चुनौती थपिएको  पत्रकारहरूले  बताएका छन् ।

वर्ल्ड कम्युनिकेटर्स काउन्सिलको नेपाल च्याप्टरले बुधवार आयोजना गरेको वेविनारमा काठमाडौ उपत्यका तथा विभिन्न प्रदेशमा कार्यरत पत्रकारहरुले कोभिड- १९को समयमा रिपोर्टिङ गर्दाको अनुभव सुनाएका थिए । कार्यक्रमको प्रारम्भमा बोल्दै काउन्सिलका अध्यक्ष लक्ष्मणदत्त पन्तले कोरोनाका कारण नेपाली पत्रकारले भोगेका विषयलाई साझा रुपमा साट्ने वातावरण तय भएको र यसमा विश्वका अन्य सञ्चार माध्यमका पत्रकारको पनि चासो रहेको बताए । पत्रकारिताको अध्ययन र अनुसन्धानको क्षेत्रमा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारका अनुभव बलियो प्रमाण रहने कुरामा पन्तको जोड थियो ।

वेविनारको सहजीकरण गर्दै काउन्सिलका सदस्य तुला अधिकारीले कोभिडका कारण सञ्चार क्षेत्रमा देखिएका समस्या र पेशागत सुरक्षाका विषयमा अवगत गराउन आग्रह गरेका थिए । कोरोनाको संक्रमणबाट निको भएर पुन: पत्रकारितामा फर्केका विरगञ्जका पत्रकार सुरेश विडारीले स्थलगत रिपोर्टिङमा जाँदा सबैले सावधानी अपनाउनुपर्ने बताए । उनले आफु कार्यरत संस्था अनलानइखबर डट कमले कोभिडका समयमा सुरक्षित रहन आग्रह गरेको तथा मनोवैज्ञानिक रुपमा ढाडस दिएकाले आइसोलेसनमा बसेकै समय समाचार र ब्लग लेख्न सफल भएको अनुभव सुनाए । प्रदेश नं २ मा कार्यरत सञ्चारकर्मीमाझ विश्व स्वास्थ्य संगठनले जारी गरेको सुरक्षा मापदण्डका मास्क पञ्जालगायतका सामाग्रीको उपलब्धता हुन नसकेको विडारीले जानकारी गराए ।

नेपाली समाजमा पारिवारिक दायित्व र पत्रकारको भूमिकालाई सन्तुलन गर्न चुनौती बनिरहेको अवस्थामा कोभिडले महिला पत्रकारको व्यक्तिगत तथा व्यावसायिक जीवनमा समस्या थपेको अन्नपूर्ण  दैनिकमा कार्यरत पत्रकार राधा खनालको भनाइ थियो । भारतसगँ खुला सिमाना रहेको झापा जिल्लामा कोरोना संक्रमण दर र भय बढेकाले दैनिक रुपमा समाचार संकलन गर्दा मानसिक दबाबको अनुभूति गरेको खनालले बताइन् ।

कोरोना अघि सम्पादक र प्रकाशकको भूमिकामा बढी सक्रिय कैलालीका पत्रकार दिर्घराज उपाध्यायले कोरोनाका कारण सरकारले गरेको लकडाउनले पश्चिम टुडे पत्रिका बन्द गर्नु परेको यथार्थ सुनाए । बाह्रखरी डट कममा कार्यरत बिराटनगरका पत्रकार कुमार लुईटेलले कोरोना संक्रमण क्षेत्र उदयपुर लगायत अन्य स्थानमा स्थलगत रिपोर्टिङमा जान पारिवारिक अनुमती माग्न परेको बताए । रुपन्देहीका पत्रकार कृष्ण मल्लले कोभिडका कारण पत्रकारको काम थपिएको बताए । सुर्खेतमा कार्यरत कान्तिपुर दैनिकका पत्रकार कलेन्द्र सेजुवालले कोभिडका कारण समाचार स्रोतसगँको भौतिक दुरी कम गर्न परेको स्मरण गर्दै समाचारको वस्तुगत विषय तथा तथ्यमा फरक पर्न गएको अनुभव सुनाए । पत्रकार दिपक दाहालले कोरोना चीनको वुहानमा शुरु भएदेखिनै समाचार संकलन गरेको स्मरण गराउँदै अहिले थप चुनाैति थपिएकाे सुनाए ।

कोभिड-१९ ले पत्रकारसँगै अन्य क्षेत्रका मानिसलाई मनोवैज्ञानिक रुपमा समस्या बढाएको द राइजिङ्ग नेपालमा कार्यरत पत्रकार स्मिता अधिकारीले बताइन् । फिचर लेखनमा बढी व्यस्त रहने अधिकारीले आफु कार्यरत पत्रिकाको पृष्ठ घटेकोले समाचारको चाप नभएको अनुभव सुनाइन् । नेपालगञ्जका पत्रकार कृष्ण अधिकारीलाई रिपोर्टिङ चाप बढेको छ । कोभिड संक्रमण उच्च जोखिममा रहेको जिल्लामा टेलिभिजनका लागि श्रव्य दृश्य सामाग्री संकलन गर्न चुनौती र सार्वजनिक स्थलमा जोखिम भएकाले समाचार संकलनमा सावधानी अपनाउन आवश्यक रहेको अधिकारीले बताए । अर्का टेलिभिजन पत्रकार घनश्याम मिश्रले जनकपुर कोभिडको उच्च जोखिममा रहेकोले रिपोर्टिङमा जान समस्या देखिएको बताए ।

कार्यक्रममा व्यक्त भएका विचारलाई सम्बाेधन  गर्दै काउन्सिलका उपाध्यक्ष एवं नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेले पत्रकारको व्यक्तिगत र आर्थिक सुरक्षामा सबैको ध्यान जान आवश्यक रहेको बताए । कार्यक्रममा  विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु, मिडिया अनुसन्धानकर्ता एवं काउन्सिलका सदस्यहरुको सहभागिता रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार