Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘युवा चिकित्सकलाई ‘माेटिभेट’ गर्न जरूरी छ’

‘युवा चिकित्सकलाई ‘माेटिभेट’ गर्न जरूरी छ’

एक वर्षयता जिल्ला अस्पताल स्याङ्जाको रंगरूप नै फेरिएको छ। युवा चिकित्सकले नेतृत्व लिएपछि अस्पतालमा व्यापक सुधार अाएको हो। केही वर्षअघिसम्म सर्वसाधारणले अस्पतालमा सेवा पाउन निकै सास्ती भोग्नुपर्थ्यो। अहिले उनीहरूले सहज रूपमा उपचार पाउन थालेका छन्।

यही सेराेफेराेमा जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेण्डेण्ट डा.अमृत पोखरेलसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी–

तपाईँ आउँदा कस्तो अवस्थामा थियो अस्पताल?

म २०७४ साउन १९ गते जिल्ला अस्पताल पुगेको हुँ। म यहाँ आउँदा अस्पतालमा खासै बिरामी थिएनन्। दिनमा आठ दश जना आउँथे। धेरैजसो बिरामी पोखरा जाने गर्थे। शौचालयबाट गन्ध आएर हिँड्नै गाह्रो पर्थ्याे। खानेपानीको व्यवस्था थिएन। चिकित्सक आवासमा शौचालयको पानी बगेर बस्न सक्ने नै अवस्था थिएन। यहाँ बस्न नसक्ने भएर तीन महिना बाहिर नै बसेँ। अवस्था निकै दयनीय थियो। भौतिक संरचनाको त कुरै नगरौँ।

अस्पताल आएपछि पहिले कुन क्षेत्रमा सुधार गर्नपर्छ जस्तो लाग्यो?

सबैभन्दा पहिले त सरकारी अस्पतालप्रति आम मानिसको धारणा परिवर्तन गर्नु थियो। सरकारी अस्पताल भन्ने बित्तिकै जताततै फोहोर, शौचालयबाट गन्ध आउने चिकित्सकलाई भेट्न धेरै कुर्नुपर्नेलगायत मानसपटलमा आउँछ। म आउँदा अस्पतालमा त्यस्तै अवस्था थियो। म त्यो मानसिकतालाई बदल्नु पर्छ भन्नेमा थिएँ। कुनै पनि अस्पतालको सेवा चुस्त दुरुस्त राख्न सबैभन्दा पहिले त्यहाँको भौतिक संरचना राम्रो हुन जरुरी छ जस्तो मलाई लाग्छ।

अस्पतालमा प्रवेश गर्नेबित्तिकै बिरामीलाई सहज हुने वातावरण हुनुपर्छ भनेर मैले सरसफाइ र रंगरोगनमा ध्यान दिए। त्यसपछि सेवाको कुरा त छँदै थियो। साथ दिए, मेरा युवा चिकित्सक र स्वास्थ्यकर्मी साथीहरूले। त्यसपछि बिस्तारै हामी सेवा बिस्तारतर्फ लाग्याैँ।

एक वर्षमै यति धेरै परिवर्तन कसरी सम्भव भयो त ?

‘टिम’ नै सबैभन्दा बलियो पक्ष हो। अस्पतालको नेतृत्व सम्हालेको जम्मा एक वर्ष भएको छ। केही गर्नुपर्छ भन्ने सोचले अघि बढ्दै गर्दा साथीहरुको साथ पाएँ। अहिले त हामी सरसल्लाह गरेर काम गर्छौँ। गरे के हुँदैन र जस्तो लाग्छ। राम्रो काम गर्दा विश्वास जित्न समय त लाग्छ नै।

अहिले अस्पतालमा बिरामीले पाउने सेवाको अवस्था कस्तो छ ?

हामी अहिले अस्पतालमा हाल आठ जना चिकित्सक छौँ। अहिले केही गर्नुपर्छ भन्दै लागिपरेका साथीहरुको साथ पाएको छु। त्यसैले पनि अझ बढी उर्जा थपिएको छ। हाल हामीले तीन वटा त विशेषज्ञ सेवा नै उपलब्ध गराउँदै आएका छौँ। मेरो विशेषज्ञता बालरोग भएकाले यही विभाग सम्हालेको छु। स्त्रीरोग विशेषज्ञ डा.शंकर राउतले प्रसूति विभाग सम्हालेका छन्। उनी अस्पतालमा २४ सै घण्टा खटिन्छन्।

यसैगरी केही महिना अघिदेखि ‘डेन्टल’ सेवा समेत शुरु भएको छ। यी विशेषज्ञ सेवा शुरु भएपछि पोखरा वा अन्य अस्पताल जानुपर्ने बिरामीको बाध्यता हटेको छ। एकाध बिरामी त्यो पनि पोखरासम्म जान नसक्ने मात्र आउने अस्पतालमा बिस्तारै बिरामीको चाप हुन थालेको छ।

अस्पतालको व्यवस्थापन कसरी गर्नुभएको छ?

हामी आफैँ खटिन्छौं। प्रत्येक शुक्रबार चिकित्सक कर्मचारी सबै मिलेर अस्पताल सरसफाइ गर्छाैँ। सातामा एक दिन अस्पतालको कुनै एक भाग मात्र सफा गर्दा पनि त्यसले धेरै असर गर्छ। यसैगरी सातामा एक दिन ‘सीएमई’ कार्यक्रम हुन्छ। नयाँ के भइरहेछन् भनेर स्वास्थ्यकर्मीबीच अनुभव साटसाट हुन्छ। अस्पतालले १८ वर्षमा पहिलोपटक यसपालि वार्षिकोत्सव मनाएको छ। अस्पतालमा सुरक्षाको हिसाबले ‘सीसी क्यामेरा’ समेत जडान गरिएको छ। एक वर्षको अवधिमा अस्पतालले धेरै नै फड्काे मारिसकेको छ।

बिरामी र सेवा दिनेलाई सजिलो होस् भनेर अस्पतालमा हुनुपर्ने सबै सुविधा राख्ने प्रयास गरेका छौँ। हाल बिरामीको सबै ‘रेकर्ड’ अस्पतालले राख्ने गर्छ जुन अन्य सरकारी अस्पतालमा त्यति वास्ता गरिँदैन। बिरामीले कार्ड बिर्से भने पनि अस्पतालले नामका आधारमा खोजेर हेर्नसक्छ।

बिरामीको कस्तो प्रतिक्रिया पाउनुभएको छ?

जिल्ला अस्पतालमा के उपचार होला र भनेर पोखरा जानेहरु अहिले सहज रूपमा घरनजिकै सेवा पाउन थालेपछि खुशी भएका छन्। उनीहरू सानो समस्या परे पनि पोखरा वा पाल्पा नै धाउँथे। तर अहिले आफ्नै गाउँ ठाउँमा सस्तोमा उपचार सम्भव भएपछि उनीहरु दंग छन्। नियमित जाँच मात्र होइन ‘फलोअप’का लागि पनि बिरामी आइरहेका छन्। यो भनेको उहाँहरुको हामीप्रतिको विश्वास हो।

के के चुनौती देख्नुहुन्छ?

स्याङ्जा जिल्ला अस्पताल भनेको युवा चिकित्सक र स्वास्थ्यकर्मीले चलाएको अस्पताल हो भन्दा फरक पर्दैन। चिकित्सकहरू सेवा दिइरहेका छन् अझ याेभन्दा राम्राे गर्न उत्साहित छन्। तर आवासको राम्रो सुविधा छैन। यसको व्यवस्था जतिसक्दो चाँडो गर्न जरुरी छ। सरकारले स्वास्थ्य सेवा चाहिने र सेवा दिने मान्छे चाहिँ नचाहिने जस्तो व्यवहार गर्छ। एक जना नवौं तहका डाक्टरलाई ३५ हजार रुपैयाँमा काम लगाउनुपरेको छ। त्यसमा पनि दिनरात नभनी काम गरिहेका छन्।

उनीहरूलाई प्रोत्साहन गर्ने काम केही छैन। उनीहरूलाई टिकाइराख्न समस्या छ। उनीहरूलाई ‘मोटिभेट’ गर्ने केही त्यस्तो कार्यक्रम सरकारसँग छैन। अहिले त चिकित्सक र स्वास्थ्यकर्मी दिनरात नभनी काम गरिरहेका छन्।

सँधै यस्तो अवस्था नरहन सक्छ। उनीहरूमा कामप्रतिको रुचि घट्न सक्छ। त्यसैले यसबारे सरकारले वेलैमा सोच्नुपर्छ।

 

थप समाचार