Health TV Online
Health TV Online
Health TV Online

महाकाली पारि अलपत्र परेका नेपालीको एक महिनापछि उद्दार

महाकाली पारि अलपत्र परेका नेपालीको  एक महिनापछि उद्दार

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  नेपाल भारत सिमामा अलपत्र परेका दुई हजार पाँच सय ९५ जना नेपाली मजदुरको उद्धार गरिएको छ। बिहीबार भारतको पिथौरागढस्थित धार्चुला र झुलाघाटका क्वारेन्टाइनमा रहेका मजदुरको उद्धार गरिएको हो।

क्वारेन्टाइन अवधि सकिए पनि नेपाल प्रवेशको अनुमती नपाउँदा समस्यामा परेका उनीहरुलाई बिहीबार बिहानैदेखि प्रवेश अनुमती दिईएको थियो। दार्चुलाका दुई वटा नाका र बैतडीका एक नाकाबाट गरी २५ सय बढिको उद्धार गरिएको हो। दत्तु र खंलगा नाका भएर एक हजार दुई सय ९६ जना दार्चुला भित्रिएका छन्। जसमा बैतडी, बझाङका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराईएको छ। त्यहाँबाट ९ सय २० जना नेपाल भित्रीएका छन्।

दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनका अनुसार खलंगा नाका भएर तीन सय ७६ जना भित्रीएका छन्। बैतडीको झुलाघाट नाका भएर एक हजार दुई सय ९९ जना नेपाल भित्रीएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काइएको प्रजिअ पौडेलले जानकारी दिए। नेपाल र भारतका स्थानीय प्रशासनबीच सहमति गरेर नेपाली मजदुरहरुलाई स्वदेश फर्काइएको हो। सीमा नाकामा नेपाली मजदुरहरुको समान्य चेकजाँच गरेर स्वदेश भित्र्याइएको थियो।

‘स्वदेश फर्काइएकाहरुलाई अनिवार्य १४ दिन सम्म क्वारेन्टाइनमा राखिने छ। बैतडी जिल्लाका मजदुरहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ।’ उनले भने, ‘अन्य जिल्लाका नागरिकलाई पनि बैतडीमै १४ दिन क्वारेन्टाइनमा राखेर आरडीटी गरेपछि मात्रै घर पठाइने छ।’

एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेकाहरुलाई स्वदेश फर्काउनका लागि मजदुरहरुले बारम्बार आग्रह गरिरहेका थिए। एक महिनापछि स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको मजदुरहरुले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार