Health TV Online
Health TV Online
Health TV Online

कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस

कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस

हेल्थ टिभी अनलाइन\काठमाडौं  : नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ रोकथाम र प्रतिकार्यका लागि आपतकालीन सेवा तीव्र पारेको जनाएको छ।

संक्रमण शुरु हुनेबित्तिकै रेडक्रसले आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाएको रेडक्रसका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए। जोखिम न्युनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ, संयुक्त राष्ट्रसंघलगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको उनले बताए।

समुदायमा चेतना कार्यक्रम, स्थानीय संघसंस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफएम रेडियोमार्फत समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा रेडक्रसका युवा स्वयंसेवक परिचालित भएका छन्।

अग्रपंक्तिका स्वयंसेवकहरूले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरूको वितरण गर्ने जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायको सहकार्यमा गरिरहेका छन्। यस्तो गतिविधिबाट एक लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएको रेडक्रसले जनाएको छ।

क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी आगामी दिनमा प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना तयार भइसकेको बताइएको छ। यस्तै सामुदायिक आवश्यकता र संलग्नताको अवधारणाबमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुने रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए।

रेडक्रसको निःशुल्क हटलाइन ११३० सञ्चालन गरिएको र यसमा लकडाउन लागू भएपछि १७५ टेलिफोनको सम्बोधन गरिएको रेडक्रसले जनाएको छ। विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउनतर्फ पनि वेब, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको निर्देशक पौडेलले जानकारी दिए।

अस्पताल तथा स्वास्थ्य डेस्कमा खटिएका रेडक्रस स्वयंसेवक र कर्मचारीका लगि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरिएको जनाइएको छ। रक्तसञ्चार केन्द्रमा रगतको मागका लागि आउने बिरामीका आफन्तलाई पनि यस्तै सुरक्षाका उपाय अपनाइएको छ। रेडक्रसले शव व्यवस्थापनका लागि नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५०, धुलिखेल अस्पताललाई ५० थान र नेपाली सेनालाई ५० वटा शव व्यवस्थापन ब्याग उपलब्ध गराएको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार