Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा कोरोना संक्रमित अस्पताल पुर्याउन पाँच एम्बुलेन्स तयार

काठमाडौंमा कोरोना संक्रमित अस्पताल पुर्याउन पाँच एम्बुलेन्स तयार

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल एम्बुलेन्स सेवा (फोन नं. १०२) ले पाँच एम्बुलेन्सलाई कोरोना भाइरस संक्रमित बिरामी अस्पताल लैजान मिल्ने अवस्थामा राखेको जनाएको छ।

कोरोना भाइरस संक्रमित बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन आवश्यक पर्ने आपतकालीन स्वास्थ्य प्राविधिक र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराई सोमवारदेखि नै सेवा प्रदान गर्ने समझदारी भएको छ।

कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको नेपाली सेनाको छाउनीस्थित ‘कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र अपरेसन’ (सीसीएमसी ओप्स) मा स्वास्थ्य मन्त्रालय र एम्बुलेन्स सेवाबीच समझदारीमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार नेपाल एम्बुलेन्स सेवाको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालयका चार र काठमाडौँ महानगरपालिकाको एक गरी पाँचवटा थप एम्बुलेन्सलाई कोरोना भाइरससम्बन्धी बिरामीलाई सेवा प्रदान गर्न मिल्नेगरी तयार पारी एम्बुलेन्स सेवाअन्तर्गत सञ्चालनमा ल्याइने छ।

एम्बुलेन्स सञ्चालनमा आपत्कालीन स्वास्थ्य प्राविधिकको थप आवश्यकता भएमा सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट दक्ष जनशक्ति (एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी) उपलब्ध गराइने सेनाको सिसिएमसी ओप्सले जनाएको छ।

साथै सञ्चालनमा आउने थप एम्बुलेन्सका लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौँ महानगरपालिकाले नै व्यहोर्नेसमेत उक्त समझदारीमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार