चेपाङ गाउँमा दादुरा–रुबेला, दुई बालबालिकाको मृत्यु, १५० बिरामी
हेल्थ टिभी अनलाइन\धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरा रुबेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ। १५० बिरामी छन्।
आठ महिनाको वसन्त चेपाङ र २९ महिनाकी अनिशा चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन्। गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छन्।
गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरा–रुबेला रोगको संक्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी भई मृत्यु हुने देखिएको थियो।
चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो। फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा एकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिए।
दुई वर्षअघि धादिङ जिल्ला पूर्णखोपयुक्त जिल्ला घोषणा गरेपनि योगाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमाया चेपाङले बताइन्।
गाउँपालिकाले महामारीका रूपमा रहेको दादुरा–रुबेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र वागमती प्रदेश सरकारसमेतलाई आग्रह गरेको छ।
गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ४० वर्षमुनिका सबैलाई दादुरा–रुबेला खोप लगाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम