कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती: राष्ट्रसंघ
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन्।
उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन्। कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरसले उक्त कुरा बताएका हुन्। न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनले भने, ‘यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजको मुटुमै प्रहार गरेको छ।’
राष्ट्रसंघ प्रमुखले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए। गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्नेु बताए। राष्ट्रसंघको अनुमान अनुसार यस महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउनेछन्।
विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ। विश्वभर अहिले ८ लाख ५० हजारमा यस भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ४१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एक लाख ७७ हजार कोभिड १९ रोगबाट निको भएका छन्। गत वर्षको अन्त्यमा भाइरसको प्रकोप सुरु भएको चीनमा भन्दा धेरै अमेरिकामा मृत्युको सङ्ख्या तीन हजार छ सयभन्दा बढी पुगेको छ।
उच्च प्रभावितमध्येको स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ८४९ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इटलीमा १२ हजार भन्दा बढीको मृत्यु भएको छ। ब्रिटेनमा एकजना १३ वर्षे किशोर सहित अहिलेसम्म एक हजार सात सय ८९ जनाले ज्यान गुमाएका छन्।
बीबीसी





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित