किन भन्यो डब्लूएचओले कोरोनालाई विश्वव्यापी महामारी?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस प्रकोपलाई ‘प्यान्डेमिक’ अर्थात् ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ।
यसअघि चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका लागि उसले उक्त शब्दावली प्रयोग गरेको थिएन।
डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले भाइरसको खतरनाक तहको संक्रमणले निम्त्याएको गम्भीर चिन्ताका कारण अहिले यो पदावलीको प्रयोग गरिएको बताए।
विश्वव्यापी महामारी के हो?
प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको संक्रमण देखिने स्थितिलाई जनाउँछ।
पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो। त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएको अनुमान छ।
यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै संक्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ।
कोरोना भाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्। अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने संक्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ।
यो शब्दावली अहिले किन प्रयोग गरियो?
फेब्रुअरी महिनाको अन्त्यतिर डब्लूएचओका प्रमुख डा. टेड्रोसले कोरोनाभाइरस विश्व्यापी महामारी बन्ने सक्ने पूर्ण सम्भावना भएको टिप्पणी गरेका थिए।
तर उक्त भाइरस अनियन्त्रित रूपमा विश्वभरि नफैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु नपरेको उनको भनाइ थियो।
तर स्थितिमा केही परिवर्तन आयो। कोरोना भाइरस संक्रमण देखिएका देशको संख्या बढ्यो। अहिले ११० भन्दा बढी देशमा एक लाख जनाभन्दा बढी मानिसमा संक्रमण भएको पुष्टि भएको छ।
भाइरसको संक्रमण विस्तारमा भाषाको परिवर्तनले कुनै परिवर्तन ल्याउँदैन। तर देशहरूले यसको नियन्त्रण गर्ने प्रयासमा परिवर्तन ल्याउने डब्लूएचओको आशा छ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले भनेका छन्, ‘केही देशहरू क्षमताको अभावका कारण संघर्ष गर्दैछन्। केही देशहरूले साधनस्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा संघर्ष गरिरहेका छन्।’
बीबीसी नेपालीबाट





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम