Health TV Online
Health TV Online
Health TV Online

संक्रमण फैलिएका थप केही देशको भिसा रोक्ने सरकारको निर्णय

संक्रमण फैलिएका थप केही देशको भिसा रोक्ने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले संक्रमण फैलिएका थप देशको ‘अन अराइभल’ भिसा रोक्ने निर्णय गरेको छ।

चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोरोना भाइरसको संक्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा‍. युवराज खतिवडाले जानकारी दिए।

‘शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अहिले आठ पुगेको र अझै केही थप देशहरूको भिसा रोक्ने निर्णय भएको छ’, कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा. खतिवडाले भने।

थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने उनले खुलाएनन्। सूचना एकद्वार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताए। हवाइ उडानमा भने कटौती नगरिएको उनले जानकारी दिए। भिसा रोकिएपछि स्वतः कटौती हुने उनको भनाइ छ।

यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स, जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भयो। छिमेकी मुलुक भारतमा पनि संक्रमणको संख्या बढ्दै गएको अवस्थामा थप उच्च सतर्कता अपनाउने निर्णय गरेको खतिवडाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार