स्वास्थ्यचौकी भवन निर्माण गर्न स्थानीयले दिए जग्गा
हेल्थ टिभी अनलाइन\बागलुङ : गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि बडिगाड गाउँपालिका–२ खर्वाङका सर्वसाधारणले निःशुल्क जग्गा र नगद सहयोग गरेका छन्।
खर्वाङको एक परिवारले आफ्ना मातापिताको स्मृतिमा तीन रोपनी जग्गा स्वास्थ्य चौकीका लागि निःशुल्क उपलब्ध गराएको छ। स्व. जयलाल र हिरादेवी खरेलको स्मृतिमा छोरा नरिश्वर, स्व. अग्निधर, घनश्याम, तिलाराम र बाबुरामले स्वास्थ्यचौकी भवन निर्माणका लागि तीन रोपनी जग्गा उपलब्ध गराएका हुन्।
जग्गा अभावका कारण लामो समयदेखि स्वास्थ्य चौकी भवन निर्माणको काम रोकिएको थियो। जग्गा प्राप्त भएसँगै नयाँ भवन निर्माणको काम शुरु गरिने वडाध्यक्ष ढालेन्द्र शेरचनले बताए।
स्वास्थ्यचौकी निर्माणका लागि स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्यचौकी कार्यक्रमअन्तर्गत चालू आवमा १३ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भई गाउँपालिकामा प्राप्त भइसकेको छ। जग्गा र बजेट दुवैको समस्या नरहेकाले तत्कालै निर्माण प्रक्रियाअघि बढाइने गाउँपालिकाले जनाएको छ। जग्गा प्राप्त भएपछि स्थानीयवासीले सडक निर्माणको प्रक्रियासमेत अघि बढाएका छन्।
भवनस्थलमा जाने सडक निर्माण तथा स्वास्थ्य चौकीको थप व्यवस्थापनमा सहज होस् भन्दै स्थानीयवासीबाट चन्दा सङ्कलन अभियान शुरु गरिएको छ। अभियानमा स्थानीयवासीले उत्साहजनक रूपमा सहयाेग गरिरहकाे बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण