Health TV Online
Health TV Online
Health TV Online

वीरेन्द्रनगरमा सर्जिकल मास्क अभाव

वीरेन्द्रनगरमा सर्जिकल मास्क अभाव

हेल्थ टिभी अनलाइन\सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्क अभाव देखिएको छ।

यहाँ मौज्दात सर्जिकल मास्क व्यवसायीले महँगो मूल्यमा काठमाडौं  पठाएपछि अभाव सिर्जना भएको हो। नेपाल औषधि व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिए। ‘डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो’, उनले भने, ‘एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन।’

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ। सुर्खेत उद्योग वाणिज्य सङ्घ, रेडिमेड तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाका मास्क पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए। कपडाको मास्क किन्ने ग्राहकको संख्या बढेको उनले बताए।

एकजना चिकित्सकको निगरानीमा

काठमाडौँबाट सुर्खेत आएका एक युवकलाई ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ। बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवकमा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो। जापानबाट कोरिया हुँदै उनी नेपाल आइपुगेको बताइएको छ। उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले ज्वरो बढी देखिएकाले उनलाई पूर्णरूपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए। उनले भने, ‘ती युवकलाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था रहेको छैन।’ प्रदेश सरकारले विश्वमा महामारीका रूपमा फैलिएको भाइरसबाट सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार