Health TV Online
Health TV Online
Health TV Online

भरतपुर विमानस्थलमा हेल्थ डेस्क

भरतपुर विमानस्थलमा हेल्थ डेस्क

हेल्थ टिभी अनलाइन\चितवन : नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा  पुनः स्वास्थ्य कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो।

गत माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो। नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गर्न अनुरोध गरेको थियो। प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा बिहीबार कक्ष स्थापना गरिएको हो।

महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुईजना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन्। उनीहरूले जहाजबाट ओर्लिएका यात्रुहरुको अवस्था बुझेर शंकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन्।

विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ। ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रु धेरै आउने हुँदा जोखिम हुनसक्ने भन्दै स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताए।

यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरूलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ। सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरूलाई हवाइ यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोध गरेको छ।

भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक ८०० हाराहारी यात्रु आवतजावत गर्दछन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार