धामीले नसके मात्र अस्पताल!
हेल्थ टिभी अनलाइन\जाजरकाेट : ‘दूधको दूध, पानीको पानी छुट्याइदिनुपर्यो, देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ’, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो ।
गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महत्वपूर्ण भनाइ हो यो। यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन्। धामी, झाँक्रीले ‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्था लैजाने गरेको पाइएको छ ।
सामान्य टाउको दुख्दा होस् वा सामग्री हराउँदा, देवताकै शरणमा गएर सल्लाह लिने चलन जाजरकोट, रुकुमपश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफलसम्म हुने गरेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए।
नयाँ घरमा प्रवेश गर्नेदेखि नयाँ कामको थालनी गर्दासम्मका काम धामीले दिएको साइतकै आधारमा हुने गरेको खत्रीले बताए। जिल्लाको बारेकोट, जुनिचाँदे गाउँपालिकामा देवीदेवताको विश्वासका आधारमा काम बढी हुने गरेको पत्रकार रेशमबहादुर खड्काले बताए। ‘घरमा भैँसी ब्याएपछि दूध खानलाई समेत देवताकै शरणमा जानुपर्छ, देवताले दिएको दिनबाहेक अरु दिनमा दूध खान नमिल्ने विश्वास अझै छ’, उनले भने।
२०७२ सालमा फैलिएको मौसमी फ्लु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो। दुई दिनदेखि त्रिपुरासुन्दरी नगरपालालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासी धामीको शरणमा पुगेको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण