Health TV Online
Health TV Online
Health TV Online

क्वारेन्टाइनबाट निस्केकालाई राज्यमन्त्रीको आग्रह, जनचेतना फैलाउन लाग्नुहोस्

क्वारेन्टाइनबाट निस्केकालाई राज्यमन्त्रीको आग्रह, जनचेतना फैलाउन लाग्नुहोस्

हेल्थ टिभी अनलाइन\भक्तपुर : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्ने अभियानमा लाग्न क्वारेन्टाइनबाट निस्केका नेपालीलाई आग्रह गरेका छन्।

यही फागुन ४ गते चीनको वुहानबाट आएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीको स्वास्थ्य हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको टोलीलाई सोमवार विदाइ गर्दै राज्यमन्त्री रावतले कोराना भाइरसको बारेमा जनचेतना अभिवृद्धिमा लाग्न आग्रह गरेका हुन्।

गत शनिबार यहाँ रहेका सबैको नाक र घाँटीको स्वाब संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीलाई १६ दिनपछि घर पठाएको हो ।

‘हाम्रो मनोविज्ञानका कारण समाजमा भ्रम फैलिएको छ,, राज्यमन्त्री रावतले भने, ‘यो समस्यालाई सहजै हल गर्न सकियो, अब आउन सक्ने समस्यालाई पनि हल गर्न र कारोना भाइरसबारे जनचेतना अभिवृद्धि गर्न तपाईहरु आजैदेखि लाग्नु हुनेछ भन्ने विश्वास छ।’

उहाँले घर फर्किएका सबैको दिर्घायु एवं सुखद् भविष्यको कामना गर्दै क्वारेन्टाइनमा रहेका नेपालीलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैप्रति आभार व्यक्त गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरूको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काइएको बताए।

क्वारेन्टाइनमा रहेका नेपालीलाई सुरक्षादेखि आवश्यक सम्पूर्ण सहयोग पुर्याएको बताउँदै नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जस्तोसुकै अवस्थामा पनि देशको सेवा गर्न तयार रहेको बताए क्वारेन्टाइनका विद्यार्थीको स्वास्थ्य रेखदेखमा सक्रिय नेपाली सेनाका क्याप्टेन डा. नवीन फुयाँलले क्वारेन्टाइनमा रहेका सबै स्वस्थ रहेको रिपोर्ट सार्वजनिक गरे।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएकप् डा. रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार