मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै
हेल्थ टिभी अनलाइन\हेटाैँडा : वागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गर्ने भएको छ। जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा वेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्याउने तयारी थालिएको हो।
कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा स्वास्थ्य परीक्षण गराउन पाउनेछन्। कतिपय अस्पतालले तत्काल र केहीले एक हप्ताभित्रमा कार्यक्रम शुरु गरिसक्ने र आगामी चैतको पहिलो हप्ताबाट सबै नागरिकलाई सेवा दिने तयारी भएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।
अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका रूपमा प्रदेशका पाँच जिल्लाका पाँच अस्पतालबाट शुरु गरिएको कार्यक्रम अब चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ अस्पतालबाट एकैसाथ शुरु गर्न लागिएको हो।
कार्यक्रमको शुरुआती चरणमा जेष्ठ नागरिक, दलित, महिला, विपन्न तथा अल्पसंख्यकका लागि सेवा दिइएको भए पनि आगामी दिनमा कार्यक्रमको दायरा फराकिलो बनाएर कार्यक्रम शुरु गर्न लागिएको हो। विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सहज परीक्षण गरी समयमै उपचार गर्नका लागि सहजता होस् भन्ने उद्देश्यले प्रदेशका सम्पूर्ण नागरिकको पहुँच पुग्ने गरी कार्यक्रम व्यापकरूपमा विस्तार गर्न लागिएको मन्त्री दुलालले बताए।
प्रदेशको हेटौँडा अस्पतालसहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अन्य नागरिकलाई न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्नेगरी कार्यक्रम ल्याएको मन्त्री दुलालले बताए।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?