खरिपाटीमा क्वारेन्टाइन : त्रास हटाउन प्रजिअ पुगिन् घरदैलो
हेल्थ टिभी अनलाइन\भक्तपुर : खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्र आसपासका बासिन्दामा काेराेना भाइरससम्बन्धी चेतना फैलाउन भन्दै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरदैलो अभियान शुरु भएको छ।
काेराेना भाइरस संक्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपाली राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो।
खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराइएको छ। यस्तै अन्य कुनै पनि भाइरसको संक्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी दिइएको छ।
प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले कुनै पनि समस्या देखिए जाँच गराउन सक्ने जानकारी गराइन्।
खरिपाटीस्थित क्वारेन्टाइन राख्दा संक्रमणकाे त्रासले स्थानीयवासीले घर छाड्न थालेको खबरसँगै उनीहरूलाई त्रासबाट मुक्त दिन र जीवनयापन सहज बनाउन घरदैलो अभियान शुरु गरिएको नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए।
क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरूमा कोरोना संक्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताए। प्रहरी उपरीक्षक सविन प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताए।
स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि दुई\चार परिवार गाउँ फर्किएको बताइन्।स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरूलाई घृणा गर्नुपर्ने कारण नभएको र बस्ती छाड्नुपर्ने अवस्था नभएको बताए।
चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई विद्युत् प्राधिकरण भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। बस्तीनजिकै क्वारेन्टाइन राखेपछि त्रसित स्थानीय बासिन्दालाई आश्वस्त पार्न प्रजिअसहितको टोली घरदैलो अभियानमा निस्केको हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित