उद्धारका लागि तयार रहन चीनमा रहेका नेपालीलाई दूतावासको सन्देश
बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको छ।
दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ। चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोना भाइरसबाट प्रभावित हुबेमा रहेका झण्डै २०० नेपालीको उद्धारका लागि अन्य व्यवस्थापन गरिने दूतावासले जनाएको छ।
दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले हुबेमा रहेका नेपालीहरूलाई वीच्याटमार्फत् सन्देश पठाउँदै त्यस्तो जानकारी गराएका हुन्।
लम्सालले त्यहाँस्थित नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै ‘हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिने’ उल्लेख छ।
लम्सालले यसअघि चिनियाँहरूले तीन दिनजतिको समय राखेर पूर्वजानकारी दिनुपर्ने भनेको बताए। तर अहिले दुई दिनमै उद्धारका लागि सबै कुरा सम्पन्न गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले भने, ‘अब हामीले चाँडै अनुमति पाएर शनिवारसम्म नेपालीहरूको उद्धार गरिसक्छौँ भनी तयारी गरेर बसेका छौँ।’
यस्तो छ नेपालमा तयारी
हुबेमा रहेका नेपालीहरूलाई शनिवार स्वदेश फर्काउने निर्णय गरेसँगै त्यसका लागि विभिन्न तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
मंगलवारको मन्त्रिपरिषद् बैठकले हुबेमा रहेका नेपालीहरूलाई वुहानमा भेला गरेर नेपाल ल्याउने निर्णय गरेको हो।नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका लम्सालले बताए।
उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट एकैपटकमा नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए।
बीबीसी नेपालीबाट
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै