Health TV Online
Health TV Online
Health TV Online

संसदीय समितिले सरकारलाई भन्यो, वुहानमा रहेका नेपालीलाई चाँडो फर्काऊ!

संसदीय समितिले सरकारलाई भन्यो, वुहानमा रहेका नेपालीलाई चाँडो फर्काऊ!

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा रहेका नेपालीलाई चाँडो फर्काउन निर्देशन दिएको छ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरसबाट संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यान दिई पूर्वतयारी गर्न समेत सरकारलाई निर्देशन दिएको छ।

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मानवीय क्षति बढिरहेको सन्दर्भमा  फर्किन चाहने नेपालीलाई उचित व्यवस्था मिलाई स्वदेश ल्याउन समितिकी सभापति जयपुरी घर्तीले निर्देशन दिएकी हुन्।

संक्रमण फैलिनसक्ने खतरालाई ध्यान दिई पूर्वतयारी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उनले निर्देशन दिइन्। ‘कोरोना संक्रमण फैलिन नदिन र चीनमा रहेका नेपाली स्वदेश ल्याउन सरकारले चालेको कदम स्वागतयोग्य छ’, उनले भनिन्, ‘यसलाई अझ प्रभावकारी बनाओस् भन्ने आकांक्षा हो।’

बैठकमा सांसदहरूले चीनबाट विद्यार्थीहरूलाई ल्याइएपछि राख्ने क्वारेन्टाइनको विषयमा विवाद गर्न नहुने बताए। सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमण भए पनि एक मिटरभन्दा नजिक भए मात्र सर्ने सम्भावना रहने बताए। ‘त्यसैले भक्तपुरको खरिपाटीमा राख्न हुँदैन भनेर विरोध गर्नुको अर्थ छैन’, उनले भने। सांसद गजेन्द्रबहादुर महतले पनि सरकारले जिम्मा लिएर राख्ने भएकाले आतंकित हुन नपर्ने तर्क गरे।

सांसद गगन थापाले कोरोना भाइरस संक्रमण देखिएमा गर्ने उपचारको विषयमा सरकारले प्रष्ट पार्न नसकेको धारणा राखे। ‘चीनबाट ल्याउने विद्यार्थी लिन जाने वेलादेखि ‘क्वारेन्टाइन’मा राख्नेसम्मका लागि कस्तो तयारी गरेको छ, प्रष्टसँग जानकारी दिनुपर्छ’, उनले भने। सांसद उमाकान्त चौधरीले सरकारले केन्द्रमा मात्रै अस्पताललाई तयारी अवस्थामा राखेको भन्दै सातै प्रदेशमा पूर्वतयारी गर्नुपर्ने बताए।

सांसद जीवनराम श्रेष्ठले सरकारले वुहानमा रहेका नेपालीहरुलाई छिटो ल्याउने व्यवस्था नगर्दा परिवारमा मानसिक तनाव बढेको तर्फ सरकार गम्भीर नभएको आरोप लगाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले कोरोना भाइरस संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएको बताए। ‘चीनतर्फका सबै नाका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सबै पर्यटकीय क्षेत्रमा हेल्थ डेस्क राखेर सावधानी अपनाएका छौँ’, उनले भने।

तर विशेष प्रकारको मास्क एन ९५ अभाव भएकोले आयात गर्ने तयारी गरेको सचिव बरालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार