Health TV Online
Health TV Online
Health TV Online

अभावै अभावबीच चलिरहेछ जाजरकोट अस्पताल, एक महिनायता भर्ना भएका छैनन् बिरामी

अभावै अभावबीच चलिरहेछ जाजरकोट अस्पताल, एक महिनायता भर्ना भएका छैनन् बिरामी

जाजरकाेट : चार वर्षअघि १५ बाट ५० शय्या बनाइएको जाजरकोट अस्पताल अभावै अभावबीच चलिरहेको छ। सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अहिले १८ स्वास्थ्यकर्मी मात्र कार्यरत छन्।

अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात विशेषज्ञ, तीन मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ ।

त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त छन्। स्टाफ नर्स आठमध्ये सात रिक्त छन्। पब्लिक हेल्थ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिस्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए।

अस्पतालमा कार्यरत अति न्यून संख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य जाँच गरेर औषधि दिने र सिफारिस गर्नेबाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन्। कार्यालयका निमित्त प्रमुख जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गरे।

छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न छाडेका छन्। छात्रवृत्ति करार सेवामा चार जना चिकित्सक कार्यरत छन्।

सामान्य खालका शल्यक्रिया गर्ने, शल्यक्रियासहितको प्रसूति सेवा दिने भनेर गत वर्ष अस्पताल आएका एमडीजीपी डा. महेश सिलवाल केही समयअघि जिल्ला छाडेर गएपछि शल्यक्रिया सेवा बन्द भएको छ। स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आएका डा. सिलवाल अस्पतालमा एक वर्ष बिताएर फर्किएका हुन्। अस्पतालमा आवश्यक पूर्वाधार नभएको, बेहोश बनाउने एनेस्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर फर्किएको उनले बताए।

लामो समयदेखि काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन्। ल्याब सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ। अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरूप आफूहरुले भिडियो एक्सरे सेवा नदिएकाे गरेको डा. भूपेन्द्रप्रकाश मल्लले बताए।

‘’उहाँहरूले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनुभएकाे छ’, जैसीले भने,  ‘उहाँहरूले अतिरिक्त काम गरेकै पाँच लाख रुपैयाँ दिन बाँकी छ’,कसरी समाधान गर्ने।’

पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ हुन नसकेको उनकाे गुनासाे छ।  ‘विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन। अन्य स्वास्थ्यकर्मी पनि रित्तिँदै गएका छन्’ जैसीले प्रश्न गरे’, नयाँ पदपूर्ति हुँदैन, कसरी सेवा प्रभावकारी बनाउने?’

अस्पतालमा भरपर्दो सेवा प्रवाह हुन नसकेपछि एक महिनायता एक जना पनि बिरामी भर्ना भएका छैनन्। फार्मेसीमा अत्यावश्यक औषधिसमेत छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार