Health TV Online
Health TV Online
Health TV Online

दैलेखमा भेटिए औलोका बिरामी

दैलेखमा भेटिए औलोका बिरामी

दैलेख : जिल्लामा औलोका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा औलोका नौ जना बिरामी भेटिएका हुन्। रोजगारीका लागि भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने औलो रोग देखापरेको हो।

दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा औलोका बिरामी भेटिएका हुन्। जिल्ला अस्पतालका वरिष्ठ ल्याब असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार औलोका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्लाबाहिर उपचारका क्रममा मलेरिया भेटिएको बताए।

यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्। जिल्लामा उपचार हुन नसकेपछि उनलाई कान्ति बाल अस्पताल काठमाडौँमा ल्याएपछि औलो भएको पत्ता लागेको हो। चिकित्सककाे उच्च निगरानीमा बिरामीहरूको उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ।

रोग अन्यत्र सर्न नदिन सतर्कता अपनाएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निराजन पन्तले बताए। मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको उनले जानकारी दिए।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा. मदन कोइरालाका अनुसार औलोका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारी रूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने देखिएकाे बताए। ‘रोजगारीका लागि मुग्लान जाने फर्किँदा मलेरियाको संक्रमित भई फर्किने हुनाले संक्रमण राेक्न र बिरामीकाे तत्काल उपचार गर्न स्थानीय सरकार लाग्नुपर्छ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार