Health TV Online
Health TV Online
Health TV Online

चीनबाट आएका नेपाली राख्न खरिपाटीमा दुई भवन खाली गराइयो

नगरपालिका र स्थानीय बासिन्दाको विरोध जारी

चीनबाट आएका नेपाली राख्न खरिपाटीमा दुई भवन खाली गराइयो

काठमाडौं : चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईवटा भवन खाली गराएको छ।

प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो। त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारेको उनले जानकारी दिए। भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ।

नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनोट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा ‘आइसोलेसन वार्ड’का रूपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले शुक्रबार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन्।

टोलीले यो ठाउँको छनोट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न आइसोलेसन मात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम गर्नसक्ने जानकारी गराएको सहनिर्देशक ओलीले बताए। तर त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नहुने भन्दै कर्मचारी त्रासमा रहेको उनको भनाइ छ। प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ।

खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन्। स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दिनदिनै आन्दोलन गर्दै आएका छन्।

चाँगुनारायण नगरपालिकाको छैटौँ नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार