चाँगुनारायण नगरपालिकाले खरिपाटीमा ‘क्वारेन्टाइन’ राख्न नदिने
भक्तपुर : चाँगुनारायण नगरपालिकाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण भवनमा शुक्रवार शुरु भएको चाँगुनारायण नगरपालिकाको छैटौँ नगरसभाले चीनबाट ल्याइएका नेपालीका लागि खरिपाटीमा ‘क्वारेन्टाइन’ राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गरेको हो।
सभामा बोल्ने नेकपा, कांग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरूले निर्णय सच्याउँदै विकल्प खोज्न सरकारसँग माग गरे।
‘कोरोना भाइरसप्रति चिनियाँ सरकार र जनताले लडेको लडाइँमा हाम्रो ऐक्यबद्धता र सहानुभूति प्रकट गर्छौँ। नेपाल फर्किन चाहने चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग जोड्दार माग गर्छौँ’, नगरसभाको निर्णय सुनाउँदै नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘तर, चाँगुनारायणको सदरमुकाम एवं घनाबस्ती रहेको खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णयप्रति स्थानीय बासिन्दाको विरोध आएकाले गम्भीर ध्यानाकर्षण गर्दै अन्यत्र विकल्प खोज्न सरकारसँग माग गर्छौँ।’
नगरसभामा सबै वडाध्यक्षले चीनबाट फर्काइएका नेपाली राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले यहाँ क्वारेन्टाइन राख्न दिनै नहुने बताए। बस्तीका बीचमा क्वारेन्टाइन राख्न खोज्दा यहाँका जनता त्रसित बनेको उनीहरूको भनाइ छ।
बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई मिच्दै सरकारले बस्तीबीचमा राख्न खोजे आन्दोलन गर्ने चेतावनी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार सम्बन्धित मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीगरी चार स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिएका थिए।
फोटो– changunarayanmun.gov.np





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित