Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मी नै खाँदैनन् हात्तीपाइले रोगविरुद्धको औषधि

स्वास्थ्यकर्मी नै खाँदैनन् हात्तीपाइले रोगविरुद्धको औषधि

पर्वत : मुलुकका धेरै जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसके पनि पर्वत भने अझै पनि उच्च जोखिममा रहेको पाइएको छ।

कुस्मा नगरपालिका स्वास्थ्य एकाइले बिहीबार पर्वत अस्पतालमा गरेको कार्यक्रममा सराेकारवालाहरूले स्वास्थ्यकर्मीले नै औषधि सेवन नगरेका कारण अभियान असफल भएको बताएका हुन्। पर्वतमा सन् २०१० देखि नियमित रूपमा १० पटक औषधि खुवाउने कार्यक्रम सकिए पनि जिम्मेवार व्यक्तिले नै हेलचेक्र्याइँ गर्दा राेग निवारणमा समस्या आएको हो।

‘सबै मानिसले औषधि नखाएका कारण ११ औँ पटकसम्म औषधि खुवाउनुपर्ने अवस्था छ’, कुस्मा नगरपालिकाका स्वास्थ्य एकाइका प्रमुख उमाकान्त सापकोटाले भने, ‘जान्नेबुझ्नेले नै औषधि नखाँदा यस्ताे समस्या भएको हाे।’

औषधि नखानेमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी बढी पाइएका छन्। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले औषधिबारे अनावश्यक हल्ला फैलाइएका कारण धेरैले नखाएको बताए। ‘लामो समयसम्म विज्ञले अनुसन्धान गरेर बनाएको औषधिमा कुनै समस्या छैन’, उनले भने, ‘भ्रम तोड्न जरुरी छ।’

पर्वत जिल्ला र खासगरी कुस्मा नगरपालिकामा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुँदैछ। दशौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले संक्रमितको संख्या एक प्रतिशतभन्दा तल नझरेपछि पुनः ११ औँ पटक अभियान सञ्चालन गर्न लागिएको हो। पर्वतसहित देशका १३ जिल्लामा माघ २५ गते सामूहिक रूपमा औषधि खुवाउने कार्यक्रम छ।

पर्वतमा दुई वर्षभन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कुल जनसंख्यामध्ये एक लाख पाँच हजार ५१६ लाई औषधि सेवन गराउने लक्ष्य रहेको कुस्मा नगरपालिकाका वरिष्ठ अहेब अधिकृत यामप्रसाद शर्माले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार