सर्लाहीमा बढ्याे असुरक्षित गर्भपतन, प्रशासन माैन
सर्लाही : जिल्लामा निजी स्वास्थ्य केन्द्रहरूले असुरक्षित गर्भपतनलाई तीव्रता दिँदा पनि प्रशासनले अंकुश लगाउन सकेको छैन।
नियमनकारी निकायद्वारा नियमित अनुगमन, निगरानी तथा कानुनी कारवाहीे नहुँदा अवैधानिक गर्भपतन फस्टाएको हो। सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूबाहेक सर्लाहीमा निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक र औषधिपसलले समेत गर्भपतन गर्दै आएका छन्।
कतिपय निजी अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य क्लिनिकले बिरामीको साधारण रोग परीक्षण तथा उपचार गर्ने इजाजत पाए पनि कुनै पनि किसिमका चिरफार तथा गर्भपतन गराउन पाउँदैनन्। तर नियमनकारी निकायको निगरानीको अभावले सबै पोलिक्लिनिक र क्लिनिकले अवैध गर्भपतनको काम गर्दै आएका छन् ।
जिल्लाको नवलपुर, हरिवन, मलङ्गवालगायत क्षेत्रका अधिकांश क्लिनिक, निजी स्वास्थ्य संस्था एवं औषधि बिक्रेताले पैसाको लोभमा असुरक्षित गर्भपतन कार्यमा संलग्न भएको पाइएको हो।
मेरी स्टोपका चिकित्सक वीरेन्द्र महतोका अनुसार अवैध र असुरक्षित सम्बन्धले गर्भ बसेपछि पारिवारिक घृणा तथा सामाजिक बेइज्जतीबाट जोगिन जस्तोसुकै क्लिनिक तथा स्वास्थ्य संस्थामा गर्भपतन गराउन जाने गरेको पाइएको छ। ‘सुरक्षित गर्भपतनको इजाजत नपाएका त्यस्ता स्वास्थ्य संस्थाले गर्भपतनका लागि औषधि खुवाउँछन्’, उनले भने, ‘जसका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर पर्छ र अन्त्यमा अस्पताल पुग्छन्।’
सुरक्षित गर्भपतनको अनुमति नलिएका स्वास्थ्य संस्था तथा औषधि बिक्रेताले गर्भपतन गराउन दर्ता नै नभएका औषधिको प्रयोग गर्ने गरेका छन्। नेपालमा दर्ता नै नभएका मिसोप्रोष्टल, अनवान्टेड किट, अनडिजायर किट, प्रेगनेन्ट किट, मिथेप्रिस्टललगायत औषधि गर्भवतीलाई खुवाउने गरेको पाइएको प्राथमिक स्वाथ्य केन्द्र लालबन्दीका चिकित्सक चन्दन चौधरीले बताए। ‘यस्तो कार्य गैरकानुनी हो। मानव स्वास्थ्यमा खेलबाड हो’, उनले भने, ‘गर्भपतनका लागि खुवाइने ती औषधि परिवार नियोजनका साधनका रूपमा समेत प्रयोग गर्न थालेको पाइएको छ।’
अवैध रूपले सञ्चालित गर्भपतन केन्द्रहरूले नियम र कानुनको ख्यालै नराखी गर्भपतन गराउने भएकाले उनीहरूले त्यसबापत महँगो शुल्क लिन्छन् । यसरी गर्भपतन गराउँदा ती पोलिक्लिनिक र क्लिनिकहरूले सेवाग्राहीहरूको अवस्था हेरेर १० देखि २५ हजारसम्म असुल्ने गरेकाे स्थानीयवासीकाे भनाइ छ ।
आठ हप्ताभन्दा कम समयको गर्भपतन गराउन प्रयोग गरिने मिसोप्रोष्टल औषधि सोभन्दा बढी समयको गर्भपतन गराउन पनि प्रयोग गर्ने गरेका कारण महिलामा बाँझोपन हुने, पाठेघरमा साल अड्किने, रक्तस्राव बढी भएर मृत्यु हुनेसम्मका समस्या आउने चिकित्सकको भनाइ छ। गर्भपतनका लागि सेवन गर्ने औषधिबाट विभिन्न शारीरिक समस्या भएपछि अस्पताल पुग्ने ती महिला पेट दुखेकाे बहानामा उपचार गराउन आउने चिकित्सक चौधरीले बताए।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित