Health TV Online
Health TV Online
Health TV Online

चीनमा रहेका नेपाली विद्यार्थी भन्छन्, टुहुरो महशुस भयाे

चीनमा रहेका नेपाली विद्यार्थी भन्छन्, टुहुरो महशुस भयाे

चीनको वुहान सहरबाट शुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठननले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले ‘टुहुरो महशुस गरेको’ बताएका छन्।

वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको भन्दै निराशा व्यक्त गरेका हुन्।

वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, ‘हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठा वरपर भएका साथीहरू गइसके।’

‘शुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्लूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो’, उनी भन्छन्, ‘तर अहिले भारत, बंगलादेश र श्रीलंकाजस्ता देशले पनि लान थाले।’

टुहुरो महशुस

आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको न्यौपानेले बताए।

‘बेइजिङस्थित नेपाली राजदूतज्यूसँग हाम्रो कुराकानी भएको थियो’, उनले भने, ‘उहाँ अभिभावकत्व लिन्छु भन्नुहुन्छ, तर हामीलाई यहाँ टुहुरो बच्चाजस्तो महशुस भइरहेको छ।’

सोही विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए।

‘हामीले चीन सरकारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि!’ उनले भने, ‘तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आइसोलेसनमा राखोस् भन्ने चाहेका हौँ।’ त्यस्तो गरे आफूहरूको मानसिक तनाव कम हुने उनको भनाइ छ।

शंका

नेपाल सरकारले बेवास्ता गर्नुमा दूतावासले सही सूचना उपलब्ध नगराएको हुन सक्ने नेपाली विद्यार्थीहरूको शंका छ।

‘हामीलाई यहाँ जेलमा बसेको जस्तो महसुस भइरहेको छ’, खनालले प्रश्न गरे, ‘तर सरकारले किन बंगालादेश, श्रीलंका र माल्दिभ्सजस्ता देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि हामीलाई वास्ता गर्दैन?’

बीबीसी नेपालीबाट

थप समाचार