Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना भाइरस संक्रमण : के गर्दैछन् सरकारी निकाय?

नेपालमा कोरोना भाइरस संक्रमण : के गर्दैछन् सरकारी निकाय?

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण अब नेपालमै शुरु गरेको जानकारी दिएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि कोरोना भाइरसको जाँच शुरु गरिएको जानकारी दिएका हुन्। ‘त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पनि थर्मल स्क्यानर मार्फत ज्वरो लगायतका अन्य लक्षण नाप्न थालिएको छ’, उनले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजोदेखि जाँच शुरु भएको छ।’

जाँचका लागि काठमाडौंस्थित अस्पतालका ल्याबहरूलाई प्रयोग गर्ने विषयमा काम भइरहेको उनले बताए। त्यस्तै ‘भिडियो कन्फ्रेन्स’ मार्फत सबै प्रदेशमा निरन्तर रिपोर्ट लिने र निर्देशन दिने काम भइराखेको उनको भनाइ छ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले मौसमी रुघाखोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए। कोरोना भाइरसबाट बच्न भिडभाडमा नजाने, साबुनपानीले हात धोइराख्ने, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने र मास्क तथा पञ्जा लगाउने गर्नुपर्ने उनको भनाइ छ। ‘संक्रमणबाट बच्न स्वास्थ्यकर्मीले पनि सावधानी अपनाउनुपर्छ’, उनले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कोरोना भाइरसको जाँच कसरी गर्ने भन्ने विषयमा १३ वटा अस्पताललाई ‘ओरेन्टेसन’ दिएको जानकारी दिइन्। कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अधिकारी सुनिल शर्माले सरकारले कोरोना भाइरसबाट बच्ने उपायबारेप्रचार प्रसार शुरु गरिसकेको जानकारी दिए। ‘पर्चा छपाएर वितरण गर्ने र विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन\प्रसारण गर्ने काम थालिसक्यौँ’, उनले भने।

चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको छ भने करिब पाँच हजार संक्रमित भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। धेरै नेपाली अध्ययन र कामको सिलसिलामा त्यहाँ रहेका कारण नेपाल फर्किँदा संक्रमण आउने भन्दै विमानस्थल र सीमा नाकामा समेत स्वास्थ्य जाँच कडा बनाइएको सरकारले बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार