Health TV Online
Health TV Online
Health TV Online

महिलामाथि हुने हिंसा र विभेदको कारक बाँझोपन पनि: अध्ययन

महिलामाथि हुने हिंसा र विभेदको कारक बाँझोपन पनि: अध्ययन

काठमाडौं : बाँझोपन अर्थात् निःसन्तानपन महिलामामा हुने हिंसाको प्रमुख कारणमध्ये एक रहेको निष्कर्ष विज्ञहरूले निकालेका छन्।

ओरेक नेपालले हालै गरेको एक अध्ययनले नेपालमा महिलामाथि हुने हिंसाको एउटा कारण निसन्तानपन रहेको जनाएको छ।

सोमबार आयोजित कार्यक्रममा ओेरेक नेपालकी संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले समाजमा निसन्तानपन बढ्दै जाँदा महिला हिंसा पनि बढेको बताइन्। ‘हामीले गरेको अध्ययनले पुरुषका कारण नि:सन्तानपनको समस्या भएमा पनि त्यसको दाेष महिलालाई नै दिने गरिएको पाइएको छ’, उनले भनिन्।  यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सोच्ने बेला आएको उनले बताइन्।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले बाँझोपन महिला तथा पुरुष दुवैमा हुनसक्ने भए पनि दोष जति सबै महिलालाई लगाइने गरेको बताइन्। उनले यो सामाजिक समस्या मात्र नभएर जनस्वास्थ्यको समस्या भएकाले यसको उपचारको पहुँच बढाउनपर्नेमा जोड दिइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटोले ‘प्रडक्टिभ’ उमेरमा युवा विदेशिनु पनि निःसन्तानपनको एक कारण रहेको तर्क गरे। ‘विवाह गरेर खाडी मुलुक जाने र लामो समयपछि आउँदा स्वास्थ्य समस्या देखिने गरेको छ’, ‘यो मेडिकल तथा सामाजिक समस्या पनि हो।’ यसलाई ‘मल्टी सेक्टाेरल अप्रोच’बाट हेर्नुपर्ने बताए।

कार्यक्रममा सांसदद्वय मनकुमारी जिसी र रेखाकुमारी झाले मन्तव्य राखेका थिए।

ओरेकले दाङ र उदयपुरमा २२ निःसन्तानपन भएका जोडीलाई (विशेषगरी महिला) सहभागी गराएर एक अध्ययन गरेको थियो। शतप्रतिशत महिलाले निसन्तानपनकै कारण आफूले विभिन्न किसिमका हिंसा सहनुपरेको प्रतिक्रिया दिएको ओरेकले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार