‘मानसिक समस्यामा नगराैँ बेवास्ता’
बंगलादेश : मनोविद्हरूले समयमै उपचार हुन सके मानसिक रोग भएकाहरूले पनि सार्थक जीवन बिताउन सक्ने बताएका छन्।
सामाजिक वैयक्तिक विकासका लागि सहकार्य (सिभ्यूस इन्टरनेसनल) बंगलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपांगता’ सम्बन्धी सातौँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई बेवास्ता गर्न नहुने बताएका हुन्।
सम्मेलनको दोस्रो दिनको सत्रमा नेपाली प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रले समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने बताएको छ।
‘दक्षिण एसियामा अपांगता र सांस्कृतिक लचकताको अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले नेपालमा भएको असल अभ्यास र चुनौतीका विषयमा जानकारी गराए।
त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले परीक्षाको चिन्ताले जीपीएमा नकारात्मक असर पर्ने देखिएको दाबी गरे। ‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’, विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले भक्तपुरमा कक्षा ७ देखि १० कक्षाका विद्यार्थीसँग गरिएको अध्ययनमा यस्तो पाइएको बताए।
प्राध्यापक डा. उषाकिरण सुब्बाले नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासीनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरिन्। अध्ययनका क्रममा एक्लोपनाको सोचाइ आउनु, परिवारको प्रिय व्यक्ति गुम्नु, मृत्युको भय जस्ता कारणले ज्येष्ठ नागरिकमा उदासीनता बढ्ने पाइएको उनले बताइन्।
द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एसियामा अपाङ्ता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गरे। उनले विश्वभरिका अपाङ्ता भएका व्यक्तिमा देखिएको मानसिक स्वास्थ्य समस्याजस्तै दक्षिण एसियामा पनि सामान्य मानिसभन्दा अपांगता भएका व्यक्तिमा मानसिक समस्या बढी रहेको बताए।
विश्वव्यापीरूपमा अपांगता भएका व्यक्तिको मानसिक स्वास्थ्यसँगै उनीहरूको गुणस्तरीय जीवनका लागि ध्यान दिनुपर्ने सिभ्यूस इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष डा. काट्सुहिरो यामासिताले बताए।
शुक्रबार र शनिबार भएको सम्मेलनमा छ मुख्य विषयमा विभिन्न विज्ञ तथा प्राध्यापकले ६० कार्यपत्र प्रस्तुत थिए।
सम्मेलनमा नेपाललगायत मलेसिया, चीन, स्पेन, बंगलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलंका र स्वीडेनका ५०० प्रतिनिधि सहभागी थिए। अपांगता भएकाको मानसिक स्वास्थ्यको वर्तमान अवस्था र समस्या समाधानमा अपनाउन सकिने उपायबारेमा सम्मेलनमा छलफल भएको थियो।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित